रास्वपाको मन्त्री टोली तय

  • Clock icon
    २०८२ चैत्र १३, शुक्रबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) ले सरकारमा सहभागी हुने आफ्ना मन्त्रीहरूको नाम टुंगो लगाएको छ। स्रोतका अनुसार सो पार्टीले सांसद सोबिता गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र शिशिर खनाललाई परराष्ट्र मन्त्रीका रूपमा चयन गरेको हो।

नवनियुक्त मन्त्रीहरूले प्रधानमन्त्री बालेन शाह सँगै आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने तयारी गरिएको छ। पार्टी उच्च स्रोतका अनुसार सोबिता गौतमलाई मन्त्री बन्ने निर्णयबारे औपचारिक जानकारी समेत दिइसकिएको छ।

बिहीबार साँझ पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेबीच भएको छलफलपछि मन्त्रीहरूको नाम अन्तिम टुंगो लगाइएको बताइएको छ।

परराष्ट्र मन्त्रीका रूपमा चयन भएका शिशिर खनाल यसअघि छोटो समय शिक्षा मन्त्री भइसकेका नेता हुन्। उनी काठमाडौँ क्षेत्र नं. ६ बाट लगातार दोस्रो पटक निर्वाचित सांसद समेत हुन्। साथै, उनी पार्टीको सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुखको जिम्मेवारीमा पनि रहेका छन्।

त्यस्तै, कानुन मन्त्रीका रूपमा प्रस्तावित सोबिता गौतम पेशाले अधिवक्ता हुन्। चितवन क्षेत्र नं. ३ बाट निर्वाचित गौतमले अघिल्लो निर्वाचनमा प्रचण्ड पुत्री रेनु दाहाललाई ठूलो मतान्तरले पराजित गरेकी थिइन्।

यस निर्णयसँगै रास्वपाले नयाँ सरकारमा आफ्नो प्रतिनिधित्व औपचारिक रूपमा अघि बढाएको छ।

  • Clock icon
    २०८२ चैत्र १३, शुक्रबार