आईपीओ आवेदनमा आज अन्तिम अवसर

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडकालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज चैत १५ गते अन्तिम दिन रहेको छ।

बेनी हाइड्रोपावरले चैत १ गतेदेखि सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १० लाख ४० हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। कम्पनीले आफ्नो कुल जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको १० प्रतिशत हिस्सा स्थानीयका लागि छुट्याएको जनाएको छ।

यसअन्तर्गत सोलुदुधकुण्ड नगरपालिकाका वडा नं. २, ३ र ४ का अति प्रभावित बासिन्दाका लागि ५ लाख २० हजार कित्ता, वडा नं. ५, ६, ७ र ११ का बासिन्दाका लागि ३ लाख १२ हजार कित्ता र बाँकी २ लाख ८ हजार कित्ता शेयर सोलुखुम्बुका अन्य क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ। स्थानीयले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

कम्पनीले कुल २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो, जसअन्तर्गत पहिलो चरणमा स्थानीयका लागि यो शेयर बिक्री खुला गरिएको हो।

त्यसैगरी, कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख ५० हजार कित्ता साधारण शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले आफ्नो १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने क्रममा सर्वसाधारणका लागि छुट्याइएको हिस्साको १० प्रतिशत शेयर विदेशमा रहेका नेपालीहरूका लागि छुट्याएको हो।

श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

आज अन्तिम दिन रहेकाले योग्य लगानीकर्ताहरूलाई समयमै आवेदन दिन आग्रह गरिएको छ।