सडक सुधारका लागि राति बन्द

काठमाडौँ । मुग्लिन–नागढुंगा सडक खण्डको स्तरोन्नति कार्यलाई तीव्रता दिन आगामी चैत १७ गतेदेखि १९ गतेसम्म रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिर लगायतका जोखिमपूर्ण क्षेत्रमा सडक सुधार कार्य गर्नुपर्ने भएकाले तीन दिनसम्म हरेक राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइने सडक आयोजनाले जनाएको छ।

आयोजनाका अनुसार दिउँसोको समयमा अत्यधिक सवारी चाप हुने हुँदा काम गर्न कठिन हुने भएकाले रातिको समय छनोट गरिएको हो। यस अवधिमा एम्बुलेन्स, दमकल लगायत अत्यावश्यक सेवाका सवारी साधन बाहेक अन्य सबै निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइनेछ।

सडक सुधार कार्य सम्पन्न भएपछि उक्त खण्डको यात्रा अझ सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ।