अभिकर्ता परीक्षामा कडाइ, प्राधिकरणको कारबाही

काठमाडौं । नेपाल बीमा प्राधिकरण ले जीवन बीमा अभिकर्ता परीक्षामा अनियमितता देखिएपछि ५२ जना अभिकर्तालाई कारबाही गरेको छ। प्राधिकरणले उनीहरूको परीक्षा रद्द गर्दै तीन महिनासम्म परीक्षामा सहभागी हुन नपाउने निर्णय गरेको हो।

प्राधिकरणका अनुसार अभिकर्ता परीक्षामा सहभागी केही परीक्षार्थीहरूले आईआरएमआईएस प्रणालीमा प्रविष्ट गरिएको फोटोभन्दा फरक व्यक्ति परीक्षा हलमा उपस्थित भई परीक्षा दिएको पाइएको थियो। सो विषयमा सोधिएको स्पष्टिकरणमा चित्तबुझ्दो जवाफ प्राप्त नभएपछि कारबाही गरिएको प्राधिकरणले जनाएको छ।

बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका, २०७९ को दफा ८ को उपदफा (५) अनुसार परीक्षा रद्द गरिएको र उपदफा (६) बमोजिम तीन महिनासम्म पुनः परीक्षामा सामेल हुन नपाउने व्यवस्था गरिएको प्राधिकरणले स्पष्ट पारेको छ।

प्राधिकरणले परीक्षामा पारदर्शिता र निष्पक्षता कायम गर्न यस्ता अनियमिततामाथि कडाइका साथ निगरानी तथा कारबाही जारी रहने जनाएको छ।