काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षा भएकै केन्द्रमै परीक्षण गर्ने निर्णय गरेको छ, जसका कारण नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने लक्ष्य लिइएको छ।
शिक्षा मन्त्री सस्मित पोखरेल ले नतिजा छिटो प्रकाशन गर्न निर्देशन दिएपछि बोर्डले यो निर्णय गरेको हो। शिक्षक अभाव वा सुरक्षा चुनौती देखिएमा समन्वय गरेर मूल्यांकन केन्द्रहरू स्थानान्तरण गर्न सकिने व्यवस्था पनि मिलाइएको छ।
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि देशभरका १,९६६ परीक्षा केन्द्रमा सञ्चालन हुने भएको छ। परीक्षा बोर्डका अनुसार ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी सहभागी हुनेछन्।
विदेशमा समेत परीक्षा केन्द्र तोकिएको छ, जसअन्तर्गत जापानमा पनि एक केन्द्रबाट परीक्षा सञ्चालन हुनेछ।
बोर्डले सबै तयारी पूरा भएको जनाएको छ र निष्पक्ष तथा शान्त वातावरणमा परीक्षा सम्पन्न गर्न सरोकारवालालाई आग्रह गरेको छ।
