काठमाडौं । भारत सरकारले नेपालमा सामुदायिक विकाससँग सम्बन्धित सात महत्वपूर्ण परियोजना कार्यान्वयन गर्ने भएको छ । ती परियोजना सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय राजदूतावासबीच बुधबार उक्त समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।
सम्झौताअनुसार नवलपुरको मध्यविन्दु नगरपालिका–२ र तेह्रथुमको लालीगुराँस नगरपालिका–२ मा ‘कोल्ड स्टोर’ निर्माण गरिनेछ । यसैगरी, मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा रहेको जनबल माध्यमिक विद्यालयमा विद्यालय भवन, छात्रावास तथा चमेनागृह निर्माण गरिने योजना रहेको छ ।
त्यस्तै, कैलालीको गौरीगङ्गा नगरपालिका–११ मा कालिका प्राथमिक विद्यालयको भवन निर्माण गरिनेछ । रौतहटको परोहा नगरपालिका–४ मा प्रसूति केन्द्र भवन निर्माण गरिने भएको छ ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ मा कस्तुरी माध्यमिक विद्यालय र बाँकेको खजुरा गाउँपालिका–४ मा जनकल्याण माध्यमिक विद्यालयको भवन निर्माण पनि यस परियोजनाअन्तर्गत अघि बढाइनेछ ।
यी परियोजनाहरूले शिक्षा, स्वास्थ्य तथा कृषि भण्डारणजस्ता आधारभूत क्षेत्रमा सुधार ल्याउने अपेक्षा गरिएको छ, जसले स्थानीयस्तरमा सेवा पहुँच र जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
