बिदामा पनि हुलाक सेवा सहज

  • Clock icon
    २०८२ चैत्र २०, शुक्रबार

काठमाडौं । अब सार्वजनिक बिदाका दिनमा पनि हुलाकमार्फत विदेशमा सामान पठाउन र विदेशबाट आएको सामान छुटाउन सहज हुने भएको छ ।

गोश्वारा हुलाक कार्यालय डिल्लीबजारले यसअघि पनि बिदाका दिन सेवा सञ्चालन गर्दै आए पनि त्यहाँस्थित भन्सार कार्यालय र बैंक नखुल्दा जाँचपासमा समस्या हुने गरेको थियो । अन्तरनिकाय समन्वय अभावका कारण सेवाग्राहीले सास्ती खेप्नुपरेपछि सरोकारवाला निकायको ध्यानाकर्षण भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस विषयमा चासो देखाउँदै आवश्यक समन्वय अघि बढाएको छ । सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले भन्सार विभागसँग सहकार्य गरी सार्वजनिक बिदाका दिन पनि सेवा सहज बनाउने प्रक्रिया अघि बढाएको हो ।

हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पङ्गेनीका अनुसार अन्तर्राष्ट्रिय कुरियर सेवा सञ्चालन भइरहे पनि त्रिभुवन विमानस्थल भन्सार कार्यालयको शाखा बिदामा बन्द हुँदा जाँचपासमा समस्या देखिएको थियो । सो समस्या समाधानका लागि भन्सार विभागसँग निरन्तर समन्वय भइरहेको उनले बताइन् ।

भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले पनि हुलाक कार्यालयस्थित भन्सार शाखालाई सार्वजनिक बिदाका दिनसमेत सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । राजस्व भुक्तानीका लागि त्यहाँ रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखालाई पनि बिदामा खुला राख्न पहल भइरहेको छ ।

तथ्यांकअनुसार गत फागुन महिनामा मात्र उक्त हुलाक कार्यालयबाट १९ हजार २०० भन्दा बढी पुलिन्दा, पार्सल, साना प्याकेट, साधारण तथा रजिस्ट्री चिट्ठी, बुक पोस्टलगायत सामग्री विदेशबाट आयात भएका थिए भने करिब ११ हजार ७०० वस्तु निर्यात भएका छन् । यसबाट करिब २९ लाख चार हजार रुपैयाँ भन्सार राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

सार्वजनिक बिदामा पनि सेवा सञ्चालन भएपछि सेवाग्राहीले सहज रूपमा सेवा लिन पाउने, साथै कार्यालयको कार्यसम्पादन र राजस्व संकलनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

  • Clock icon
    २०८२ चैत्र २०, शुक्रबार