काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनबाट निकोलस पाण्डे अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
शुक्रबार सार्वजनिक मतपरिणामअनुसार पाण्डेले ५१४ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी आङदोर्जी लामाले ४१३ मत प्राप्त गरेका छन् ।
नवनिर्वाचित अध्यक्ष पाण्डे निर्माण क्षेत्रका सक्रिय युवा उद्यमीका रूपमा परिचित छन् । उनी कालिका कन्स्ट्रक्सनका सञ्चालक हुनुका साथै एएसी ब्रिक उत्पादक संघका अध्यक्ष समेत हुन् । साथै, उनी पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डेका सुपुत्र हुन् ।
महासंघका अन्य महत्वपूर्ण पदहरूमा पनि नयाँ नेतृत्व चयन भएको छ । वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मतसहित निर्वाचित भएका छन् ।
यसैगरी महासचिवमा शिवहरि घिमिरे ५२७ मत प्राप्त गर्दै विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी बलिभद्र रानालाई पराजित गरेका हुन्, जसले ३८० मत प्राप्त गरेका थिए ।
नीतिगत उपमहासचिवमा मंगल शाही निर्वाचित भएका छन् भने आन्तरिक उपमहासचिवमा सन्तोस शाह विजयी भएका छन् ।
नयाँ नेतृत्वले निर्माण व्यवसायीहरूको हकहित संरक्षण गर्दै भौतिक पूर्वाधार विकासका क्षेत्रमा देखिएका चुनौती समाधान गर्ने र आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ ।
