काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म नेपालमा उपभोक्ता महँगी दर तुलनात्मक रूपमा नियन्त्रणमै रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आठ महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार समीक्षा महिनामा वार्षिक विन्दुगत उपभोक्ता महँगी ३.६२ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो महँगी ३.७५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगी ३.६० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको महँगी ३.६३ प्रतिशत रहेको छ । गत वर्ष यी समूहहरूको महँगी क्रमशः ३.३४ प्रतिशत र ३.९७ प्रतिशत रहेको थियो ।
चालु आवको आठ महिनाको औसत महँगी २.१३ प्रतिशतमा सीमित रहेको छ, जुन अघिल्लो वर्षको ४.७२ प्रतिशतको तुलनामा उल्लेखनीय रूपमा कम हो ।
खाद्य समूहअन्तर्गत तरकारीको मूल्य ११.४९ प्रतिशत, घ्यू तथा तेल ९.८६ प्रतिशत र फलफूल ९.६३ प्रतिशतले बढेको छ । यद्यपि दाल तथा गेडागुडी ३.६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थ २.१८ प्रतिशत र मरमसला २.०३ प्रतिशतले घटेका छन् ।
गैर–खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवा २२.८१ प्रतिशत, शिक्षा ७.४६ प्रतिशत, मदिराजन्य पेय पदार्थ ४.७७ प्रतिशत, कपडा तथा जुत्ताचप्पल ४.७३ प्रतिशत र सुर्तीजन्य पदार्थ ३.५७ प्रतिशतले बढेका छन् । बीमा तथा वित्तीय सेवा भने ०.०३ प्रतिशतले घटेको देखिएको छ ।
भौगोलिक रूपमा ग्रामीण क्षेत्रमा महँगी ३.०६ प्रतिशत र सहरी क्षेत्रमा ३.८२ प्रतिशत रहेको छ । प्रदेशगत रूपमा मधेश प्रदेशमा सबैभन्दा बढी ४.९५ प्रतिशत महँगी रहेको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम २.२१ प्रतिशत रहेको छ ।
काठमाडौं उपत्यकामा महँगी ३.६४ प्रतिशत, तराईमा ४.११ प्रतिशत, पहाडमा ३.११ प्रतिशत र हिमाली क्षेत्रमा २.८३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
थोक मूल्य सूचकाङ्कतर्फ फागुन महिनामा वार्षिक विन्दुगत थोक महँगी ३.६४ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्ष ४.४३ प्रतिशत थियो । निर्माण सामग्रीको थोक मूल्य ०.२१ प्रतिशतले बढेको छ ।
छिमेकी भारतसँग तुलना गर्दा नेपालमा महँगी केही उच्च देखिएको छ । सन् २०२६ फेब्रुअरीमा भारतको उपभोक्ता महँगी ३.२१ प्रतिशत रहेको छ ।
समग्रमा महँगी दर घट्दो प्रवृत्तिमा रहनु अर्थतन्त्रका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ ।
