विदेशी सञ्चिति बलियो बन्दै

  • Clock icon
    २०८२ चैत्र २०, शुक्रबार

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा नेपालको विदेशी मुद्रा सञ्चिति उल्लेखनीय रूपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।

असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको थियो, जसमा २७.५ प्रतिशतको वृद्धि देखिएको हो । अमेरिकी डलरमा हेर्दा सञ्चिति असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा फागुन मसान्तसम्म १८.३ प्रतिशतले बढेर २३ अर्ब ८ करोड पुगेको छ ।

कुल सञ्चितिमध्ये सबैभन्दा ठूलो हिस्सा नेपाल राष्ट्र बैंकसँग रहेको छ । असार मसान्तमा राष्ट्र बैंकसँग २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ सञ्चिति रहेकोमा फागुन मसान्तमा २५.७ प्रतिशतले वृद्धि भई ३० खर्ब ३५ अर्ब ११ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति पनि वृद्धि भएको छ । असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेको यस्तो सञ्चिति फागुन मसान्तमा ४४ प्रतिशतले बढेर ३ खर्ब ७८ अर्ब ६६ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१ प्रतिशत रहेको छ ।

विदेशी मुद्रा सञ्चितिमा भएको यो वृद्धि अर्थतन्त्रका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ, जसले आयात व्यवस्थापन र वित्तीय स्थायित्वमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

  • Clock icon
    २०८२ चैत्र २०, शुक्रबार