धनगढी । सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा सक्रिय रूपमा जुटेको छ । प्रदेश सरकारले करिब ३० देखि ३१ अर्ब रुपैयाँको बजेट ल्याउने प्रारम्भिक अनुमान गरेको छ ।
हाल स्रोत अनुमान समितिमार्फत बजेटको आकार र स्रोत व्यवस्थापनबारे छलफल भइरहेको छ । सूचना अधिकारी अर्जुन खड्काका अनुसार संघीय अनुदान, आन्तरिक स्रोत तथा वित्तीय हस्तान्तरणका आधारमा बजेटको अन्तिम आकार निर्धारण गरिनेछ ।
चालु आर्थिक वर्षमा प्रदेशको बजेट खर्च भने कमजोर देखिएको छ । फागुन मसान्तसम्म कुल बजेटको करिब १७ प्रतिशत मात्र खर्च भएको छ भने पुँजीगत खर्च १० प्रतिशतभन्दा कम रहेको छ ।
सरकारले खर्च न्यून हुनुमा राजनीतिक अस्थिरता, आन्दोलन र निर्वाचन आचारसंहितालाई प्रमुख कारणका रूपमा उल्लेख गरेको छ । बाँकी अवधिमा विकास योजनाको कार्यान्वयन तीव्र पार्दै उल्लेखनीय प्रगति गर्ने लक्ष्य प्रदेश सरकारको रहेको छ ।
