काठमाडौं । सीजी मोटर्सले जीली होल्डिङ ग्रुप अन्तर्गतको रिडारा ब्रान्डको नयाँ विद्युतीय पिकअप रिडारा आरडी ईकन ४×४ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार उक्त गाडीको प्रारम्भिक मूल्य रु. ७१ लाख ९९ हजार तोकिएको छ ।
“पियोर इलेक्ट्रिसिटी, पियोर क्वालिटी” भन्ने अवधारणामा आधारित यस मोडेललाई नेपालकै शक्तिशाली र बहुउपयोगी इलेक्ट्रिक पिकअपको रूपमा प्रस्तुत गरिएको छ । यसले विद्युतीय सवारी सेग्मेन्टमा प्रदर्शन र उपयोगिताको नयाँ मानक स्थापित गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
करिब दुई वर्षअघि नाडा अटो शोमार्फत पहिलो पटक प्रस्तुत गरिएको रिडारा आरडी ६ ले नेपालमा इलेक्ट्रिक पिकअप सेग्मेन्टको सुरुवातमा महत्वपूर्ण भूमिका खेलेको थियो । सो अवधिमा ब्रान्डले प्रदर्शन, विश्वसनीयता र ग्राहक स्वीकार्यतामा उल्लेखनीय सफलता हासिल गर्दै आफूलाई अग्रणी इभी पिकअप ब्रान्डका रूपमा स्थापित गरेको दाबी गरिएको छ ।
नयाँ ईकन ४×४ भेरियन्टसँगै कम्पनीले अझ उच्च अफ-रोड क्षमता, बढी पावर आउटपुट र नेपालका भौगोलिक अवस्थालाई ध्यानमा राख्दै बहुउपयोगी समाधान प्रस्तुत गरेको जनाएको छ । यो गाडी सहरी सडकदेखि दुर्गम पहाडी तथा अफरोड क्षेत्रमा समेत सहज सञ्चालनका लागि डिजाइन गरिएको हो ।
यस पिकअपमा ४८५ एनएम अधिकतम टर्क, डुअल मोटर अल-ह्वील ड्राइभ (४×४) प्रणाली, २२५ एनएम ग्राउन्ड क्लियरेन्स र १२३५ केजी पेलोड क्षमता रहेको छ । इको, नर्मल, स्पोर्ट तथा अफ-रोड (हिउँ, हिलो, बालुवा) जस्ता मल्टिपल ड्राइभ मोडहरूले विभिन्न सडक अवस्थामा उत्कृष्ट नियन्त्रण दिने कम्पनीले जनाएको छ ।
सुरक्षाका लागि फाइभ स्टार ब्याट्री प्रोटेक्सन आर्मर सिस्टम, आईपी ६८ रेटेड ब्याट्री प्याक तथा ६ तहको उन्नत ब्याट्री सुरक्षा प्रणाली जस्ता प्रविधि समावेश गरिएको छ, जसले कठिन मौसम र भौगोलिक अवस्थामा समेत उच्च विश्वसनीयता सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।
यो गाडी हाल देशभरका सीजी मोटर्सका आधिकारिक शोरुमहरूमा टेस्ट ड्राइभका लागि उपलब्ध रहेको छ । कम्पनीले यसलाई उच्च प्रदर्शन, दिगोपन र भरपर्दोपन खोज्ने ग्राहकका लागि उपयुक्त विकल्प हुने अपेक्षा गरेको छ ।
