काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका डा. स्वर्णिम वाग्लेले कार्यभार सम्हालेको पहिलो सातामै अर्थतन्त्रको संरचनागत सुधारका लागि तीव्र पहल सुरु गरेका छन् । पदबहालीको सात दिनभित्रै उनले प्रशासनिक सुधारदेखि नीतिगत मार्गचित्र निर्माणसम्मका महत्वपूर्ण निर्णयहरू कार्यान्वयनमा ल्याएका हुन् ।
अर्थमन्त्री वाग्लेले पदभार ग्रहणकै दिन अर्थतन्त्रको यथार्थ अवस्था सार्वजनिक गर्न ‘आर्थिक स्थितिपत्र’ तयार गर्ने, चुनावी प्रतिबद्धता कार्यान्वयनका लागि ‘१०० दिने कार्ययोजना’ बनाउने र अप्रासंगिक भइसकेका १५ वटा पुराना ऐनहरू खारेजी प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । यी कदमलाई दीर्घकालीन सुधारको आधारका रूपमा हेरिएको छ ।
त्यसैगरी, उनले अर्थ मन्त्रालय मातहतका महत्त्वपूर्ण निकायहरूको विस्तृत ब्रिफिङ लिएका छन् । भन्सार, आन्तरिक राजस्व विभाग, महालेखा नियन्त्रक कार्यालय र नेपाल बीमा प्राधिकरण लगायतका निकायसँग छलफल गर्दै उनले बजेट कार्यान्वयनको ढिलाइ र राजस्व संकलनको चुनौतीप्रति गम्भीर ध्यानाकर्षण गराएका छन् । कर्मचारीहरूलाई प्रक्रियामुखीभन्दा नतिजामुखी काम गर्न निर्देशन दिइएको छ ।
प्रशासनिक सुधारतर्फ उनले राजस्व समूहका ३० जना उपसचिवहरूको पदस्थापन योग्यता, अनुभव र कार्यक्षमताका आधारमा गरेका छन् । कुनै राजनीतिक दबाब वा भनसुनबिना गरिएको यो निर्णयलाई मन्त्रालयभित्र सकारात्मक परिवर्तनको संकेतका रूपमा लिइएको छ ।
राजस्व चुहावट नियन्त्रणका लागि मन्त्री वाग्लेले शून्य सहनशीलताको नीति अपनाएका छन् । उच्चस्तरीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक डाक्दै उनले सुरक्षा निकाय र राजस्व प्रशासनलाई कडा कारबाही गर्न निर्देशन दिएका छन् । सीमा नाकाबाट हुने अवैध कारोबार नियन्त्रण गर्न सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ ।
यसै क्रममा उनले वीरगन्ज भन्सार कार्यालयको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीय उद्योगी व्यवसायीसँग अन्तरक्रिया गरी व्यावहारिक सुझाव संकलन गरेका छन् ।
निजी क्षेत्रसँगको सम्बन्ध सुदृढ गर्न मन्त्री वाग्लेले नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्ससँग छुट्टाछुट्टै छलफल गरेका छन् । निजी क्षेत्रलाई सरकारको साझेदारका रूपमा अघि बढाउने नीति रहेको स्पष्ट पार्दै उनले लगानी विस्तार र रोजगारी सिर्जनामा सक्रिय हुन व्यवसायीहरूलाई आह्वान गरेका छन् ।
त्यसैगरी, आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारी पनि सुरु गरिएको छ । सहसचिव उत्तर खत्रीको नेतृत्वमा बजेट लेखन समिति गठन गरी यथार्थपरक र जनमुखी बजेट निर्माणको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री वाग्लेका प्रारम्भिक कदमहरूले अर्थतन्त्र सुधारप्रति सरकारको सक्रियता र प्रतिबद्धता स्पष्ट देखिएको विश्लेषण गरिएको छ ।
