बुटवल । रुपन्देहीको तिलोत्तमा–१३, चिल्हियामा लुम्बिनी प्रदेशकै पहिलो ‘बियर गार्डेन’ सहितको ‘टाइगर फरेस्ट होटेल’ सञ्चालनमा आएको छ । युवा उद्यमी मिनराज भूसालले करिब ५ बिघा क्षेत्रफलमा एक अर्ब रुपैयाँभन्दा बढी लगानीमा यो पर्यटकीय रिसोर्ट सञ्चालनमा ल्याएका हुन् ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको मुख्य लगानी रहेको यस होटेलका संरचनाहरू मौलिक तथा प्रकृतिमैत्री शैलीमा निर्माण गरिएको छ । हरियाली जङ्गलसँगै जोडिएको यस रिसोर्टका कोठाहरू सल्लाको काठबाट बनेका ‘उडन भिल्ला’ हुन् भने आफ्नै उद्योगको ताजा ‘ड्राफ्ट बियर’ उपलब्ध हुनु यसको प्रमुख आकर्षण हो । सञ्चालक भूसाल प्रख्यात ‘बाह्रसिङ्गे’ बियर उद्योगका सञ्चालक पनि हुन् ।
पाँचतारे टाइगर प्यालेस रिसोर्टको दक्षिणतर्फ अवस्थित यस रिसोर्टमा पहिलो चरणमै बियर गार्डेन, २० वटा उडन भिल्ला, ५० जनाको क्षमताको हल, चौतारी बार, डान्स क्लब र स्पा सञ्चालनमा आइसकेका छन् ।
अस्ट्रियन इन्जिनियरको डिजाइनमा बनेका यी संरचना र ड्राफ्ट बियर गार्डेन कुरिनटारपछिको नयाँ अवधारणा भएको सञ्चालक भूसालको दाबी छ । करिब २०० क्षमताको चिनियाँ रेस्टुरेन्ट र एक हजार जनाको क्षमताको ब्याङ्क्वेट हल निर्माण अन्तिम चरणमा पुगेको छ । आगामी नेपाली नयाँ वर्षमा होटेलको औपचारिक उद्घाटन गर्ने तयारी गरिएको छ ।
निकट भविष्यमा थप ४० वटा कोठा, स्विमिङ पुल र मिनी क्यासिनो निर्माण गरी चारतारे स्तरको स्वीकृति लिने योजना रहेको छ । भविष्यमा थप १५० करोड रुपैयाँ लगानी गर्दै यसलाई पाँचतारे स्तरको बनाउने र नेपालकै नमूना वेलनेस तथा इन्टरटेनमेन्ट टुरिजम गन्तव्य बनाउने लक्ष्य राखिएको छ ।
होटेलका जनरल म्यानेजर क्षितिज खनालका अनुसार हाल यस रिसोर्टमा करिब ७० जना स्थानीयले रोजगारी पाएका छन् । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले यो होटेल लुम्बिनी प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गरेका छन् ।
