बीमा क्षेत्रमा पारदर्शिता मजबुत बनाउने पहल

काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा बर्दिवासमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण (एएमएल/सीएफटी) सम्बन्धी दुईदिने अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

चैत २० र २१ गते सञ्चालन भएको कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक तथा नियमन महाशाखा प्रमुख शाम्भ राज लामिछाने ले वित्तीय प्रणालीलाई सुरक्षित, पारदर्शी र विश्वसनीय बनाइराख्न एएमएल/सीएफटीको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताए । उनले बीमा क्षेत्रले यसमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

उनका अनुसार बीमकहरूले ग्राहक पहिचान (केवाईसी), जोखिम मूल्याङ्कन तथा शंकास्पद कारोबारको समयमै पहिचान र प्रतिवेदनमार्फत वित्तीय अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान दिन सक्छन् । उनले सबै सरोकारवालाहरूलाई सचेत, जिम्मेवार र प्रतिबद्ध भएर काम गर्न आग्रह गरे ।

नेपाल बीमा प्राधिकरणका उपनिर्देशक तथा सम्पत्ति शुद्धीकरण निवारण शाखा प्रमुख पदम प्रसाद सोडारी ले पनि सम्पत्ति शुद्धीकरण तथा आतंककारी वित्तीय लगानी निवारणमा बीमा क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै मधेश प्रदेश कार्यालयका प्रमुख आर्या रावल ले यस्ता कार्यक्रमले ज्ञान अभिवृद्धि, अनुभव आदानप्रदान तथा कानूनी अनुपालनमा एकरूपता ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बीमा कम्पनीका शाखा प्रमुख तथा अन्डरराइटिङ कर्मचारीहरूको सहभागितामा सम्पन्न कार्यक्रममा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी विद्यमान कानुन तथा नियम, प्राधिकरणबाट जारी निर्देशन, जोखिम पहिचान, ग्राहकको उचित पहिचान (केवाईसी), शंकास्पद कारोबारको पहिचान तथा प्रतिवेदन पेश गर्ने प्रक्रिया लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो ।

साथै, कार्यक्रममा एएमएल/सीएफटी सम्बन्धी कानूनी दायित्व, संस्थागत उत्तरदायित्व, आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरण तथा अनुपालन सुनिश्चित गर्ने उपायहरूबारे जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका सहायक निर्देशक सुस्मा थापा र सहायक निर्देशक महेश मण्डलले गरेका थिए । कार्यक्रममा सहायक प्रथम निकेश लाल कर्णसहित विभिन्न बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।