कोशीमा राउतको निरन्तर नेतृत्व

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्ष पदमा राजेन्द्र राउत दोस्रो कार्यकालका लागि भारी मतले विजयी भएका छन् ।

विराटनगरमा आइतबार राति सम्पन्न महासंघको आठौँ प्रदेशसभाबाट राउत पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नवीन रिजाल लाई ८४ मतान्तरले पराजित गरे ।

कुल खसेको मतमध्ये राउतले १४२ मत प्राप्त गर्दा रिजालले ५८ मत मात्रै पाए । मत परिणामअनुसार राउतले वस्तुगततर्फ ११, जिल्ला–नगरतर्फ २४ र एसोसिएटतर्फ १०७ मत प्राप्त गरेका थिए भने रिजालले क्रमशः ६, १३ र ३९ मत प्राप्त गरेका थिए । यसअघि तीन वर्षअघि झापामा भएको निर्वाचनमा राउत निर्विरोध निर्वाचित भएका थिए ।

अध्यक्ष पदमा प्रतिस्पर्धा भए पनि अन्य चार प्रमुख पदाधिकारीहरू भने निर्विरोध चयन भएका छन् । उपाध्यक्ष (जिल्ला–नगर) मा ऋषिराज तिम्सिना, उपाध्यक्ष (वस्तुगत) मा राजन श्रेष्ठ, उपाध्यक्ष (एसोसिएट्स) मा रविनकुमार दाहाल र कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । यी सबै राउत प्यानलकै उम्मेदवार हुन् ।

यसैगरी, एसोसिएट्स सदस्यतर्फ देवकीनन्दन अग्रवालभविशकुमार श्रेष्ठ पनि निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला–नगर सदस्यतर्फ कृष्णप्रसाद रिजाल, राजु ढुंगाना, जयप्रकाश शर्मा, हर्कबहादुर श्रेष्ठनवीनकुमार चौधरी विजयी भएका छन् । वस्तुगत सदस्यतर्फ सुवास आचार्यदीपक पाण्डे निर्वाचित भएका छन् ।

शिवम् अर्गनाइजेसनका अध्यक्षसमेत रहेका राउत महासंघ कोशी प्रदेशका संस्थापक सदस्य हुन् । उनको पहिलो कार्यकालमा प्रदेश कार्यालय भवन निर्माणको काम सुरु भएको थियो, जुन हाल पनि जारी रहेको छ ।

राउतसँग प्रतिस्पर्धा गरेका नवीन रिजाल महासंघका केन्द्रीय सदस्य हुन् । नयाँ नेतृत्वसँगै कोशी प्रदेशमा निजी क्षेत्रको गतिविधि थप सशक्त हुने अपेक्षा गरिएको छ ।