बजार सुधार संवाद अघि बढ्यो

काठमाडौँ । मुलुकमा नयाँ राजनीतिक समीकरणसँगै प्रधानमन्त्रीमा बालेन्द्र शाह र अर्थमन्त्रीमा प्रखर अर्थशास्त्री स्वर्णिम वाग्ले नियुक्त भएपछि पुँजी बजारमा ठूलो उत्साह आउने अपेक्षा गरिएको थियो ।

तर, सरकार परिवर्तनपछि पनि सेयर बजार निरन्तर घट्दै गएपछि लगानीकर्तामा निराशा बढ्दै गएको छ । बजार सुधारको माग गर्दै लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा हिजो आइतबार सिंहदरबारको मूल गेट र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय अगाडि विरोध प्रदर्शन गरिएको थियो ।

यसैबीच, पुँजी बजारका समस्या समाधानका लागि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले अर्थमन्त्री डा. वाग्लेलाई मागपत्र बुझाउँदै तत्काल सुधारका कदम चाल्न आग्रह गरेको छ ।

एसोसिएसनका अनुसार हाल बजारमा ५६ लाखभन्दा बढी लगानीकर्ता र ९२ वटा ब्रोकर सक्रिय रहेको अवस्थामा बजारको मनोबल बढाउन नीतिगत हस्तक्षेप आवश्यक रहेको छ ।

ब्रोकरहरूले बैंक तथा वित्तीय संस्थालाई पुँजी बजारमा सहज प्रवेश र बहिर्गमनको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । साथै, बैंकले खरिद गरेको सेयर ६ महिनापछि मात्र बिक्री गर्न पाउने हालको लक–इन अवधि हटाउनुपर्ने सुझाव पनि दिइएको छ ।

त्यस्तै, गैर आवासीय नेपाली (एनआरएन) लाई दोस्रो बजारमा सहज कारोबारको व्यवस्था गर्नुपर्ने माग राखिएको छ, जसले विदेशी मुद्रा आपूर्ति र बजारको गहिराइ दुवै बढाउने अपेक्षा गरिएको छ ।

आगामी बजेटमार्फत पुँजीगत लाभकरलाई अन्तिम करको रूपमा स्पष्ट व्यवस्था गर्नुपर्ने, साथै सरकारी कोषहरूमा थुप्रिएको रकमलाई पुँजी बजारमा लगानी गर्न वातावरण बनाउनुपर्ने सुझाव पनि ब्रोकरहरूले दिएका छन् ।

अक्सन मार्केटको तत्काल सुरुवात र सेटलमेन्ट ग्यारेन्टी फण्डलाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने मागसमेत गरिएको छ । हालको सेटलमेन्ट प्रणालीमा देखिने समस्या समाधान गर्न यी संरचना महत्वपूर्ण हुने ब्रोकरहरूको भनाइ छ ।

नयाँ सरकार र अर्थमन्त्रीप्रति लगानीकर्ताको ठूलो अपेक्षा रहेको अवस्थामा ब्रोकर एसोसिएसनको यो पहललाई अर्थपूर्ण रूपमा हेरिएको छ । अब आगामी बजेट तथा मौद्रिक नीतिमार्फत यी मागहरू कसरी सम्बोधन हुन्छन् भन्नेमा ५६ लाखभन्दा बढी लगानीकर्ताको ध्यान केन्द्रित भएको छ ।