लमजुङ । ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाले पुरक प्रारम्भिक वातावरणीय परीक्षण (Supplementary IEE) अन्तर्गत प्रभावित क्षेत्रमा पर्ने भौतिक तथा वातावरणीय प्रभावबारे स्थानीय सरोकारवालासँग सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
दिव्यज्योती हाइड्रोपावर लिमिटेड द्वारा प्रवर्द्धित उक्त आयोजना बेसीशहर नगरपालिका वडा नं. ६ र १० तथा मर्स्याङ्दी गाउँपालिका वडा नं. ८ र ९ अन्तर्गत मर्स्याङ्दी नदीमा निर्माणाधीन रहेको हो ।
आइतबार मर्स्याङ्दी गाउँपालिका–८ सिमलचौरमा आयोजित कार्यक्रममा स्थानीयवासी, सरोकारवाला निकाय तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष, बेसीशहर नगरपालिकाका नगरप्रमुख, मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि तथा आयोजनाका प्राविधिक टोलीको उपस्थिति रहेको थियो ।
कार्यक्रमका क्रममा केही व्यक्तिहरूले विरोध जनाउँदै अवरोध गर्न खोजे पनि स्थानीय समुदायको समन्वयमा कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ ।
कम्पनीका सञ्चालक मिलन खड्काले जलविद्युत विकासमार्फत देशको समृद्धि सम्भव रहेको उल्लेख गर्दै विकास विरोधी गतिविधिले आयोजना रोक्न नसक्ने बताएका छन् । उनले भने, “यो आयोजना यस क्षेत्रको भविष्यसँग जोडिएको छ, जसरी पनि सम्पन्न हुनेछ।”
उनले आयोजनाको प्रवर्द्धक कम्पनीको रूपमा अपि पावर कम्पनी लिमिटेड रहेको जानकारी दिँदै यस समूहले नेपालभर धेरै जलविद्युत तथा सौर्य ऊर्जा आयोजना सफलतापूर्वक सम्पन्न गरिसकेको बताए ।
आयोजनाले करिब १० अर्ब रुपैयाँ लागतमा निर्माण हुने अनुमान गरिएको छ । २०७४ असोज १ गते वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) स्वीकृत भइसकेको र २०७५ भदौ १० गते विद्युत् खरिद बिक्री सम्झौता (PPA) सम्पन्न भएको जनाइएको छ ।
आयोजनाबाट करिब साढे दुई वर्षभित्र व्यावसायिक विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । हाल निर्माण कार्य अघि बढिरहेको कम्पनीले जनाएको छ ।
