काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरी ले जलवायु परिवर्तनलाई अब केवल वातावरणीय समस्या मात्र नभई आर्थिक र सामाजिक संकटको रूपमा देखिन थालेको बताएकी छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले नेपालजस्ता न्यून कार्बन उत्सर्जन गर्ने मुलुकहरूले समेत जलवायु परिवर्तनका गम्भीर असर भोगिरहेको उल्लेख गरिन् ।
उनका अनुसार हिमनदी पग्लिनु, बेमौसमी वर्षा, बाढी–पहिरो तथा खडेरीजस्ता समस्या बढ्दै जाँदा जनजीवन र विकास प्रक्रियामा गम्भीर अवरोध उत्पन्न भइरहेको छ ।
मन्त्री चौधरीले जलवायु प्रतिकार्यका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार राष्ट्रिय निर्धारित योगदान (एनडिसी) तयार गरी पेस भइसकेको जानकारी दिँदै यसको प्रभावकारी कार्यान्वयन नै अबको मुख्य चुनौती भएको बताइन् ।
उनले संघ, प्रदेश र स्थानीय तहबीच समन्वयसँगै निजी क्षेत्र, नागरिक समाज र सञ्चारमाध्यमको सक्रिय सहभागिता बिना जलवायु संकटको दिगो समाधान सम्भव नहुनेमा जोड दिइन् ।
वन तथा जैविक विविधता संरक्षणमा नेपालले हासिल गरेको उपलब्धिलाई अन्तर्राष्ट्रिय समुदायले समेत प्रशंसा गरेको उल्लेख गर्दै उनले वातावरणीय सन्तुलन कायम गर्नु सबैको साझा जिम्मेवारी भएको बताइन् ।
उनका अनुसार जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सबै सरोकारवालाको संयुक्त प्रयास र जिम्मेवारी अपरिहार्य छ ।
— न्युज एजेन्सी नेपाल
