पर्सा । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा सवारीसाधन तथा पार्टपुर्जा आयातमा उल्लेखनीय वृद्धि भएको छ ।
वीरगन्ज भन्सार कार्यालयका अनुसार यस अवधिमा एक अर्ब ४८ करोड ६४ लाख रुपैयाँ मूल्यका ४९७ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् । यी सवारीसाधनबाट ९६ करोड ३६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा भने ४३ करोड १ लाख रुपैयाँ मूल्यका १६५ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएका थिए, जसबाट ३५ करोड ५० लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
सूचना अधिकारी उदयसिंह विष्टका अनुसार विद्युतीय सवारीसाधनको आयात पछिल्लो वर्षको तुलनामा तीव्र रूपमा बढेको देखिएको छ ।
त्यसैगरी, चालु आवको सात महिनामा ८० करोड ५७ लाख रुपैयाँ मूल्यका १,१२८ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन् । गत वर्षको सोही अवधिमा ४४ करोड ३ लाख रुपैयाँ मूल्यका ३,३७४ वटा विद्युतीय मोटरसाइकल आयात भएका थिए ।
इन्धनबाट चल्ने जिप, कार र भ्यानतर्फ भने चालु आवमा १ अर्ब १६ करोड १३ लाख रुपैयाँ मूल्यका ६०९ वटा सवारी आयात भएका छन्, जसबाट २ अर्ब ८६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
गत वर्षको सोही अवधिमा १ अर्ब ५० करोड रुपैयाँ मूल्यका ७४८ वटा इन्धन सवारी आयात हुँदा ३ अर्ब ७३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
समग्रमा चालु आवको सात महिनामा २३ अर्ब ५७ करोड रुपैयाँ मूल्यका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन्, जुन गत वर्षको सोही अवधिमा १७ अर्ब १५ करोड रुपैयाँ रहेको थियो । त्यसबेला १३ अर्ब २६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
आयात संरचनामा परिवर्तन देखिँदै गए पनि विद्युतीय सवारीतर्फको आकर्षण बढ्दै गएको भन्सार कार्यालयले जनाएको छ ।
