काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा वाणिज्य बैंकहरूले कुल ४३ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । साउनदेखि फागुन मसान्तसम्मको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.८९ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा बैंकहरूले ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ नाफा कमाएका थिए ।
नाफाको हिसाबले नबिल बैंक शीर्ष स्थानमा रहेको छ । बैंकले फागुन मसान्तसम्म ६ अर्ब ७ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाउँदै गत वर्षको तुलनामा २६.८७ प्रतिशत वृद्धि गरेको छ । गत वर्ष बैंकको नाफा ४ अर्ब ७८ करोड ७७ लाख रुपैयाँ रहेको थियो ।
दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले ४ अर्ब ६२ करोड २६ लाख रुपैयाँ नाफा कमाएको भए पनि यो गत वर्षको तुलनामा २.२६ प्रतिशतले घटेको हो ।
यस अवधिमा कुमारी बैंकले सबैभन्दा उच्च वृद्धि देखाएको छ । बैंकले ३ अर्ब ६३ करोड ८ लाख रुपैयाँ नाफा कमाउँदै २७४.६५ प्रतिशतको उल्लेखनीय वृद्धि हासिल गरेको छ । गत वर्ष बैंकको नाफा ९६ करोड ९१ लाख रुपैयाँ मात्र थियो ।
एभरेष्ट बैंकले २ अर्ब ९० करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा ३.३५ प्रतिशतले कम हो । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफा २ अर्ब ८८ करोड ९ लाख रुपैयाँ पुगेको छ, जुन २९.४९ प्रतिशतले घटेको छ ।
प्राइम कमर्सियल बैंकले २ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ नाफा कमाउँदै ९.६८ प्रतिशत वृद्धि गरेको छ भने एनएमबि बैंकले २ अर्ब ६४ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ, जुन २.५८ प्रतिशतले घटेको हो ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ३३ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गर्दै ३५.६८ प्रतिशतको वृद्धि हासिल गरेको छ । सानिमा बैंकले २ अर्ब ७ करोड ३९ लाख रुपैयाँ नाफा कमाउँदै २३.२१ प्रतिशत वृद्धि गरेको छ ।
सिद्धार्थ बैंकले २ अर्ब ४ करोड ८२ लाख रुपैयाँ नाफा कमाउँदै ६८.३१ प्रतिशतको आकर्षक वृद्धि देखाएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८० करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ, जुन १६.८७ प्रतिशतले घटेको हो ।
प्रभु बैंकको नाफा १ अर्ब ७४ करोड ७० लाख रुपैयाँ पुगेको छ, जुन १७.४० प्रतिशतले घटेको हो । माछापुच्छ्रे बैंकले १ अर्ब ४८ करोड ४५ लाख रुपैयाँ नाफा कमाउँदै २७.७२ प्रतिशत वृद्धि गरेको छ भने नेपाल एसबिआई बैंकले १ अर्ब ३८ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गर्दै १०.८९ प्रतिशत वृद्धि गरेको छ ।
हिमालयन बैंकको नाफा २०.७९ प्रतिशतले घट्दै १ अर्ब ३२ करोड २६ लाख रुपैयाँमा सीमित भएको छ । कृषि विकास बैंकले १ अर्ब २२ करोड १८ लाख रुपैयाँ नाफा कमाउँदै ६५.५६ प्रतिशत वृद्धि गरेको छ भने नेपाल बैंकको नाफा १ अर्ब १८ करोड ६८ लाख रुपैयाँमा झर्दै ६०.२८ प्रतिशतले घटेको छ ।
सिटिजन्स् बैंक इन्टरनेशनलले ८० करोड ७ लाख रुपैयाँ नाफा कमाएको छ, जुन ३१.०७ प्रतिशतले घटेको हो ।
यस अवधिमा सबैभन्दा कम नाफा लक्ष्मी सनराइज बैंक र एनआइसी एशिया बैंकले कमाएका छन् । लक्ष्मी सनराइज बैंकले ६५ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ, जुन ६७.३६ प्रतिशतले घटेको हो भने एनआइसी एशिया बैंकले ३० करोड ८३ लाख रुपैयाँ नाफा कमाउँदै ६२.४१ प्रतिशत गिरावट व्यहोरेको छ ।
समग्रमा बैंकिङ क्षेत्रमा नाफा सामान्य रूपमा बढे पनि बैंकअनुसार प्रदर्शन फरक–फरक देखिएको छ, जसले बजार प्रतिस्पर्धा र आन्तरिक व्यवस्थापनको प्रभाव झल्काएको छ ।
