सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन हुने उक्त महोत्सव चैत २५ गतेदेखि २७ गतेसम्म आयोजना गरिनेछ ।
सप्तकोशी नदी किनारलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्नुका साथै स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसार र लोपोन्मुख कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सवका अध्यक्ष अङ्गत राईले जानकारी दिए ।
महोत्सव अवधिभर मौलिक सांस्कृतिक नृत्य तथा झाँकी प्रदर्शन गरिनेछ । साथै, कोशी टप्पु वन्यजन्तु आरक्षमा वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकन, रामधुनी मन्दिर दर्शन तथा बोराबाँधमा सूर्यास्त अवलोकनको विशेष व्यवस्था गरिएको सहसंयोजक भविश श्रेष्ठले बताए ।
साँझको समयमा लाखे नाच र धान नाच प्रस्तुत गरिने कार्यक्रम रहेको छ । महोत्सवको अन्तिम दिन चैत २७ गते आन्तरिक तथा बाह्य पर्यटकलाई वराहक्षेत्र मन्दिर दर्शन गराइनेछ ।
त्यसपछि बोराबाँधसम्म र्याफ्टिङ, जेट बोट, एटिभी राइडिङ, नौका सयर तथा बगर खेलकुदलगायत साहसिक गतिविधिहरू सञ्चालन गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा नेपालका विभिन्न स्थान, भारतसहित तेस्रो मुलुकका पर्यटक तथा विशिष्ट अतिथिको सहभागिता रहने अपेक्षा गरिएको छ । आगन्तुकहरूका लागि स्थानीय अर्गानिक परिकारको व्यवस्था गरिने पनि आयोजकले जनाएको छ ।
पर्यटन कार्यालय धरानका अधिकृत केशव फुयाँलले यस्ता कार्यक्रमले कोशी प्रदेशको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउनुका साथै कोशी नदी किनारको पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।
