रसुवा । चैत महिनामा परेको वर्षा र हिमपातका कारण यस वर्ष आलु उत्पादन बढ्ने अपेक्षासहित उत्तरी रसुवाका किसान उत्साहित भएका छन् । सोमबार परेको वर्षा र हिउँले आलुबालीलाई आवश्यक चिस्यान पुगेकाले उत्पादनमा वृद्धि हुने विश्वास किसानले व्यक्त गरेका छन् ।
उच्च भेगमा परेको हिउँले जमिनमा प्राकृतिक चिस्यान कायम राख्दा आलुखेतीलाई विशेष फाइदा पुगेको बताइएको छ । विशेषगरी गतलाङ क्षेत्रमा उल्लेख्य हिमपात भएको स्थानीय किसान मार लामाले जानकारी दिएका छन् । उनका अनुसार विगत चार वर्षदेखि माथिल्लो भेगमा मात्र सीमित हिमपात यसपटक गाउँ आसपाससम्म देखिनु सकारात्मक संकेत हो ।
हाल आलुबाली गोडमेल गरी दाना लाग्ने चरणमा रहेको छ । यही समयमा परेको वर्षा र हिउँले बोटलाई आवश्यक चिस्यान प्रदान गरेकाले उत्पादन राम्रो हुने अपेक्षा गरिएको छ । गतलाङ क्षेत्रमा आलु खनेपछि बन्दागोभी खेती गर्ने प्रचलन रहेको छ, जसले किसानलाई थप आम्दानीको अवसर दिने गरेको छ ।
कृषि विकास कार्यालय रसुवाले २०५० सालमा गतलाङ क्षेत्रलाई आलुको पकेट क्षेत्र घोषणा गरेपछि यहाँका ५०० भन्दा बढी घरपरिवारको मुख्य नगदे बाली आलु बनेको छ । उत्पादित आलु बिक्री गरेर किसानले चामललगायत आवश्यक सामग्री खरिद गर्ने गरेका छन् । यस वर्ष ३०० ट्रकभन्दा बढी आलु उत्पादन हुने अनुमान किसानले गरेका छन् ।
