काठमाडौं । नेपाल टेलिकमले २०८२ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरूका लागि ‘एसईई अफर २०८२’ सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार यो अफर आज (चैत २६ गते)देखि लागू भई २०८३ असार २६ गतेसम्म उपलब्ध हुनेछ। यसअन्तर्गत विद्यार्थीहरूका लागि नयाँ सिमकार्ड उपलब्ध गराइनेछ भने पहिले नै नेपाल टेलिकमको सिम प्रयोग गरिरहेका परीक्षार्थीहरूले पनि सोही नम्बरमा सेवा लिन सक्नेछन्।
नयाँ सिमकार्ड रु. २० मा देशभरका नेपाल टेलिकम कार्यालयबाट प्राप्त गर्न सकिनेछ। सिम सक्रिय भएपछि ३० दिनसम्म विभिन्न सुविधा उपलब्ध हुनेछन्।
नयाँ सिममा रु. ९.८० मेन ब्यालेन्स रहनेछ, जसबाट जुनसुकै नेटवर्कमा कल, एसएमएस वा इन्टरनेट प्रयोग गर्न सकिनेछ।
‘एसईई प्याकेज २०८२’ अन्तर्गत विद्यार्थीहरूले दैनिक २० मिनेट अन-नेट भ्वाइस कल, १० वटा अन-नेट एसएमएस र ५०० एमबी डेटा प्राप्त गर्नेछन्। यी सेवा प्रत्येक दिनका लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ।
यसका साथै रु. ५० वा सोभन्दा बढीको रिचार्जमा बोनस सुविधासमेत उपलब्ध हुनेछ। बोनसअन्तर्गत ५०० एमबी डेटा, ५० मिनेट अन-नेट कल र ५० वटा अन-नेट एसएमएस प्राप्त हुनेछन्, जुन तीन दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ।
नयाँ सिम लिनका लागि विद्यार्थीले एसईई प्रवेशपत्र वा कक्षा १० को मार्कसिट, एक फोटो र अभिभावक वा आफ्नै नागरिकता/राष्ट्रिय परिचयपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ।
सिम सक्रिय गर्न *1414# डायल गर्नुपर्नेछ भने अफर लिन *1600# डायल गरी निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ। पहिले नै सिम प्रयोग गरिरहेका विद्यार्थीले पनि सोही कोड प्रयोग गरी सेवा सक्रिय गर्न सक्नेछन्।
कम्पनीले गत वर्षदेखि सुरु गरिएको यो अफर विद्यार्थीहरूको बढ्दो मागलाई ध्यानमा राख्दै यस वर्ष पनि निरन्तरता दिइएको जनाएको छ। यसले विद्यार्थीहरूलाई अध्ययन तथा डिजिटल पहुँचमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
