काठमाडौं । पछिल्लो समय सुस्त देखिएको मुलुकको अर्थतन्त्रलाई ऊर्जा क्षेत्रले उल्लेखनीय बल दिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक (कात्तिक–पुस) प्रारम्भिक तथ्यांक अनुसार विद्युत् तथा ऊर्जा क्षेत्रले तीव्र वृद्धि हासिल गरेको देखिएको छ।
तथ्याङ्क अनुसार विद्युत्, ग्यास, वाष्प र वातानुकूलित आपूर्ति क्षेत्रको वृद्धिदर २२.७ प्रतिशत पुगेको छ। यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको ७.९ प्रतिशत वृद्धिदरको तुलनामा झन्डै तीन गुणा बढी हो र १८ वटा औद्योगिक वर्गीकरणमध्ये सबैभन्दा उच्च हो।
यस क्षेत्रको कुल मूल्य अभिवृद्धि पनि उल्लेखनीय रूपमा बढेको छ। स्थिर मूल्य (आधार वर्ष २०६७/६८) अनुसार आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा ११ अर्ब ५१ करोड ८० लाख रुपैयाँ रहेको योगदान चालु आर्थिक वर्षमा बढेर १८ अर्ब १ करोड रुपैयाँ पुगेको छ। पछिल्ला चार वर्षमा यो क्षेत्र निरन्तर उकालो लागिरहेको देखिएको छ।
समग्र आर्थिक वृद्धिदर ४.०५ प्रतिशतमा सीमित रहँदा ऊर्जा क्षेत्रको २२.७ प्रतिशत वृद्धिले अर्थतन्त्रलाई मन्दीतर्फ जानबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ। धान उत्पादनमा कमी आए पनि विद्युत् उत्पादन र वितरणमा भएको सुधारले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) लाई सकारात्मक अवस्थामा राख्न सहयोग पुगेको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार मौसमी प्रभाव समायोजन गरेपछि पनि यो क्षेत्रले अघिल्लो त्रैमासको तुलनामा ३.२ प्रतिशतको वृद्धि कायम राखेको छ।
लामो अवधिको तथ्याङ्क (२०६७/६८ देखि २०८२/८३) हेर्दा नेपालको ऊर्जा क्षेत्र हालसम्मकै बलियो अवस्थामा पुगेको देखिन्छ। निजी क्षेत्रको बढ्दो लगानी र ठूला जलविद्युत् आयोजनाहरू राष्ट्रिय प्रसारण लाइनमा जोडिनु यसको मुख्य कारण भएको विश्लेषण गरिएको छ।
