काठमाडौं । विश्वकै लोकप्रिय इमेल सेवा प्रदायक गुगलले आफ्ना करिब २ अर्ब जिमेल प्रयोगकर्ताका लागि बहुप्रतिक्षित नयाँ सुविधा सार्वजनिक गरेको छ।
नयाँ व्यवस्थाअनुसार प्रयोगकर्ताले सन् २००४ मा जिमेल सुरु गर्दा बनाएका पुराना, अप्ठ्यारा वा व्यक्तिगत रूपमा अब असुहाउँदो लाग्ने इमेल ठेगानालाई परिवर्तन गरी नयाँ र व्यावसायिक नाम राख्न सक्नेछन्।
गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले यसको घोषणा गर्दै “सन् २००४ राम्रो वर्ष थियो, तर तपाईंको इमेल ठेगाना त्यहीँ अड्किनु पर्छ भन्ने छैन” भनेका छन्।
यसअघि एक पटक बनाइएको जिमेल ठेगाना परिवर्तन गर्न सम्भव थिएन। तर अब प्रयोगकर्ताले आफ्नो गुगल अकाउन्ट सेटिङमार्फत उपलब्ध भएअनुसार नयाँ इमेल नाम चयन गर्न सक्नेछन्। यद्यपि पुरानो ठेगानामा आउने इमेलहरू भने निरन्तर प्राप्त भइरहनेछन्।
विशेषगरी विद्यालय वा कलेज समयमा बनाइएका इमेल ठेगानाहरू अहिलेको पेशागत जीवनमा असहज हुने प्रयोगकर्ताका लागि यो सुविधा उपयोगी हुने अपेक्षा गरिएको छ।
तर साइबर सुरक्षा विज्ञहरूले भने यस परिवर्तनले पूर्ण सुरक्षा सुनिश्चित नगर्ने चेतावनी दिएका छन्। उनीहरूका अनुसार नयाँ ठेगाना प्रयोग गर्दा पनि शंकास्पद वेबसाइट वा एपमा दुरुपयोग भएमा स्पाम र स्क्यामको जोखिम रहिरहन्छ।
सुरक्षा विज्ञहरूले एप्पलको ‘हाइड माई इमेल’ जस्तो अस्थायी इमेल सुरक्षा सुविधा अझ प्रभावकारी भएको उल्लेख गर्दै गुगलले पनि यस्तै प्रणाली पूर्ण रूपमा लागू गर्नुपर्ने सुझाव दिएका छन्।
अर्कोतर्फ, पुरानो इमेल सक्रिय रहिरहँदा फिसिङ आक्रमण र पहिचान चोरीको जोखिम बढ्न सक्ने चेतावनी पनि दिइएको छ। विज्ञहरूका अनुसार इमेल परिवर्तन एउटा अवसर भए पनि व्यक्तिगत सुरक्षा कायम राख्न प्रयोगकर्ताले सावधानी अपनाउनु नै उत्तम उपाय हुनेछ।
