कामना सेवा बैंकको पूँजी बजार विस्तार कदम सफल

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले मर्चेण्ट बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यसहित आकाश क्यापिटल लिमिटेडलाई आफ्नो सहायक कम्पनीको रूपमा सञ्चालन गर्ने भएको छ। यसका लागि बैंकले आकाश क्यापिटल लिमिटेडको संस्थापक शेयर खरिद गरी आवश्यक प्रक्रिया अघि बढाएको हो।

यसअघि बैंक र आकाश क्यापिटल लिमिटेड बीच संस्थापक शेयर खरिद–विक्रीसम्बन्धी सम्झौता भइसकेको थियो। उक्त लगानीका लागि नेपाल राष्ट्र बैंक बाट स्वीकृति प्राप्त भएसँगै प्रक्रिया औपचारिक रूपमा अघि बढेको बैंकले जनाएको छ।

बैंकका अनुसार प्रचलित धितोपत्र सम्बन्धी कानुन तथा नियामक व्यवस्था अनुसार अब नेपाल धितोपत्र बोर्ड बाट आवश्यक अनुमति तथा दर्ता प्रक्रिया पूरा गरी मर्चेण्ट बैंकिङ सेवा सञ्चालनमा ल्याइनेछ।

यसपछि आकाश क्यापिटल लिमिटेड नयाँ संरचनाअन्तर्गत “कामना सेवा क्यापिटल लिमिटेड” को रूपमा सञ्चालन हुने बैंकले स्पष्ट पारेको छ। हालको परिवर्तनसँगै कम्पनी कामना सेवा विकास बैंक लिमिटेडको सहायक कम्पनी बन्नेछ।

कामना सेवा विकास बैंक लिमिटेड ले यस कदमले बैंकको सेवा दायरा विस्तार हुनुका साथै नेपालको पूँजी बजारको विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।