काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि छनोट भएका गणकहरूलाई लक्षित पाँचदिने तालिम कार्यक्रम आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ।
आर्थिक गतिविधिहरूको वास्तविक अवस्था, स्वरूप तथा संरचना पहिचान गरी राष्ट्रिय अर्थतन्त्रसम्बन्धी तथ्याङ्क अद्यावधिक गर्ने उद्देश्यसहित उक्त गणनाको तयारीस्वरूप तालिम कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
राष्ट्रिय तथ्याङ्क कार्यालय का अनुसार तालिम कार्यक्रम देशभर रहेका ८४ वटा कार्यालयमार्फत एकैसाथ सञ्चालन हुनेछ। यस कार्यक्रमको आयोजना नेपाल पत्रकार महासङ्घसँगको सहकार्यमा गरिएको हो।
कार्यक्रममा उपप्रमुख तथ्याङ्क अधिकारी तथा प्रवक्ता ढुण्डिराज लामिछानेले आर्थिक गणनाका लागि आवश्यक गणकहरूको छनोट प्रक्रिया पूरा भइसकेको र सम्बन्धित स्थानीय तहहरूमा आवश्यक पत्राचारसमेत गरिसकिएको जानकारी दिए।
उनका अनुसार पाँचदिने तालिम सम्पन्न भएपछि गणकहरूलाई देशभर आफ्नो जिम्मेवारीअनुसार खटाइनेछ। उनले भने, “बिहीबारदेखि देशभरका ८४ कार्यालयबाट पाँचदिने तालिम सुरु हुनेछ र तालिम सम्पन्न भएपछि आगामी २०८३ वैशाख २ गतेदेखि गणकहरू आर्थिक गणनाको काममा खटिनेछन्।”
यसअघि नेपालमा पहिलो राष्ट्रिय आर्थिक गणना विसं २०७५ (वैशाख–जेठ) मा सञ्चालन गरिएको थियो। नयाँ गणनाबाट देशको आर्थिक गतिविधिको अद्यावधिक तथ्याङ्क संकलन हुने अपेक्षा गरिएको छ।
