काठमाडौँ । कोका-कोला नेपालले फिफा वर्ल्ड कप २०२६ लक्षित आफ्नो बहुप्रतीक्षित अभियान औपचारिक रूपमा सुरु गरेको छ। राजधानीमा आयोजित विशेष कार्यक्रममा खेलकुद तथा मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका अवसरमा कोका-कोला नेपालको नयाँ ब्रान्ड एम्बासडर सार्वजनिक गरिएको छ। साथै फिफा वर्ल्ड कप २०२६ का स्टार खेलाडीहरू, अभियानसँग सम्बन्धित अडियो–भिजुअल सामग्री र छिट्टै बजारमा आउने सीमित संस्करणका आधिकारिक कोका-कोला फिफा प्याकहरूको पहिलो झलक पनि प्रस्तुत गरिएको थियो।
कार्यक्रममा बोतलर्स नेपालका प्रबन्ध निर्देशक अजय कोनालेले यस अभियानले फुटबलको उत्सवलाई नेपाली उपभोक्तासँग जोड्ने उद्देश्य राखेको बताए। उनले विशेष प्याकेजिङ, रोमाञ्चक गतिविधि र सरप्राइजमार्फत उपभोक्तालाई अविस्मरणीय अनुभव दिने लक्ष्य रहेको उल्लेख गरे।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता प्रदीप खड्कालाई कोका-कोला नेपालको नयाँ ब्रान्ड एम्बासडर घोषणा गरिएको थियो। घोषणा पश्चात् खड्काले कोका-कोला परिवारमा आबद्ध हुन पाउँदा खुसी व्यक्त गरे।
त्यसैगरी, अभियानका प्रमुख अनुहारका रूपमा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अन्जल विष्ट र अन्जन राना मगर तथा अभिनेत्री स्वस्तिमा खड्का प्रस्तुत गरिएका थिए। उनीहरूले फुटबलले सिर्जना गर्ने उत्साह र आफ्नो अनुभव साझा गरेका थिए।
कार्यक्रमको अन्त्यमा फिफा वर्ल्ड कप २०२६ थीममा आधारित नयाँ प्याकेजिङ सार्वजनिक गरिएको थियो। साथै कोका-कोलाको आधिकारिक गीत, विश्वकप टेलिभिजन विज्ञापन तथा अन्य प्रचार सामग्री पनि प्रदर्शन गरिएको थियो।
कोका-कोलाको फिफासँगको सहकार्य विश्व खेलकुदकै सबैभन्दा लामो साझेदारीमध्ये एक मानिन्छ। यो सम्बन्ध सन् १९७४ मा सुरु भई सन् १९७८ देखि कम्पनी विश्वकपको आधिकारिक प्रायोजक रहँदै आएको छ। नेपालमा पनि कोका-कोला पाँच दशकभन्दा बढी समयदेखि सक्रिय छ।
यस अभियानमार्फत विश्व फुटबल संस्कृतिलाई नेपाली दर्शकहरूको उत्साहसँग जोड्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ।
