काठमाडौं । कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना अब ६४० मेगावाट क्षमतामा निर्माण हुने भएको छ। प्रारम्भिक रूपमा ८४४ मेगावाट क्षमतामा प्रस्ताव गरिएको आयोजना अध्ययनका क्रममा परिमार्जन गर्दै ६४० मेगावाट उपयुक्त ठहर गरिएको हो।
हाल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारी भइरहेको छ। प्रस्तावित बाँध सेती नदी र कालीगण्डकी नदीको दोभानबाट करिब १० किलोमिटर माथि उर्लेनी खङ्गकोट क्षेत्रमा निर्माण गरिनेछ, जुन गुल्मीको कालीगण्डकी गाउँपालिका–६ र पर्वतको बिहादी गाउँपालिका–२ बर्राचौर क्षेत्रमा पर्छ। आयोजनाअन्तर्गत २४४ मिटर अग्लो बाँध निर्माण गरिने जनाइएको छ।
बाँध निर्माणपछि करिब २९ किलोमिटर लामो खनियाघाटसम्म जलाशय फैलिनेछ। आयोजनाको नेट हेड १८३.४ मिटर, डिस्चार्ज ४०५ घनमिटर प्रतिसेकेण्ड र वार्षिक ऊर्जा उत्पादन १,६४५.६५ गिगावाट घण्टा हुने अनुमान गरिएको छ।
प्राविधिक रूपमा आयोजनामा चारवटा स्टिल पेनस्टक र चारवटा प्रान्सिस टर्बाइन जडान गरिनेछ। विद्युत्गृह पर्वतको बिहादी गाउँपालिका बर्राचौरमा प्रस्ताव गरिएको छ।
आयोजनाबाट पर्वत जिल्लाका जलजला गाउँपालिका, कुश्मा नगरपालिका, फलेवास नगरपालिका र बिहादी गाउँपालिकाका विभिन्न वडा प्रभावित हुनेछन्। साथै बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाका केही क्षेत्र, गुल्मीको कालीगण्डकी गाउँपालिका तथा स्याङ्जाको गल्याङ नगरपालिका पनि प्रभावित हुने जनाइएको छ।
आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय मूल्याङ्कन कार्य विद्युत् विकास विभागको समन्वयमा परामर्शदाता कम्पनी स्मेक इन्टरनेसनल र जेड कन्सल्टको संयुक्त समूहले गरिरहेको छ।
प्रस्तावित आयोजना पृथ्वी राजमार्ग, पोखरा–बागलुङ सडकखण्ड, दोबिल्ला–फलेबास सडक, कालीगण्डकी लोकमार्ग तथा कालीगण्डकी करिडोरमार्फत सहज रूपमा पहुँचयोग्य रहने बताइएको छ।
