नयाँ राजनीतिक युगको आधार वर्ष २०८२

काठमाडौं । वर्ष २०८२ नेपाली राजनीतिक इतिहासमा परिवर्तन, संघर्ष र नयाँ आशाको संगम बनेर बिदा भएको छ। यो वर्षले दशकौँदेखि स्थापित राजनीतिक संरचनालाई चुनौती दिँदै युवापुस्ताको नेतृत्वमा नयाँ राजनीतिक धारको उदय गराएको छ।

वर्षको मध्यतिर ‘जेनजी’ पुस्ताको नेतृत्वमा सुरु भएको आन्दोलनले देशव्यापी रूप लिँदै पुरानो राजनीतिक संयन्त्रलाई हल्लाइदियो। जनदबाबका कारण तत्कालीन सरकार ढल्यो र प्रतिनिधिसभा विघटनसम्मको अवस्था सिर्जना भयो।

त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भई फागुन २१ गते सफलतापूर्वक निर्वाचन सम्पन्न गरियो। उक्त निर्वाचनले नेपाली राजनीतिमा ऐतिहासिक मोड ल्यायो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो पटक करिब दुईतिहाइ बहुमतसहित १८२ सिट जित्दै सत्ताको नेतृत्व सम्हाल्यो।

संविधान जारी भएपछि पहिलो पटक एकल बहुमतको सरकार बनेको छ, जसले लामो समयदेखि चल्दै आएको गठबन्धन राजनीतिको अन्त्य गरेको छ। पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले चैत १३ गते प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्दै १०० दिने कार्यसूची सार्वजनिक गरी सुधारको संकेत दिएका छन्।

यस वर्ष स्थापित दलहरूका लागि आत्मसमीक्षा र चुनौतीको समय बन्यो। नेपाली कांग्रेसमा गगनकुमार थापाको नेतृत्व उदाए पनि संस्थापन पक्षसँगको विवाद अदालतसम्म पुग्यो। नेकपा एमालेमा केपी शर्मा ओली पुनः नेतृत्वमा आए पनि पुस्तान्तरणको माग चर्कियो।

त्यस्तै, विभिन्न वाम घटक मिलेर बनेको नेकपा अपेक्षित सफलता हासिल गर्न असफल भयो। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी धारमा समेत विभाजन देखिँदै जनार्दन शर्मा र सुदन किराती अलग भएपछि दल विशेष महाधिवेशनको तयारीमा जुटेको छ।

संसद्मा डोलप्रसाद अर्याल सभामुख र रुबीकुमारी ठाकुर उपसभामुख निर्वाचित भएका छन्।

यद्यपि, वर्ष २०८२ उपलब्धिमात्र होइन, ठूलो क्षतिको साक्षी पनि बन्यो। भदौ २३ र २४ गते भएको आन्दोलनमा ७६ जनाले ज्यान गुमाए, जसमध्ये ४५ जनालाई सरकारले ‘जेनजी सुशासन योद्धा’ घोषणा गरेको छ। सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालतमा भएको क्षतिले करिब ७६ अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान छ।

उक्त घटनापछि छानबिन आयोगको सिफारिसमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक अनुसन्धानको दायरामा ल्याइए, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ध्यान आकर्षित गर्‍यो।

आर्थिक तथा सामाजिक क्षेत्रमा पनि वर्ष उतारचढावपूर्ण रह्यो। वैशाखमा शिक्षक आन्दोलन, जेठमा ‘सगरमाथा संवाद’मार्फत अन्तर्राष्ट्रिय उपस्थिति, डा. विश्व पौडेलको गभर्नर नियुक्ति तथा कामिरिता शेर्पाको ३१औँ पटक सगरमाथा आरोहण उल्लेखनीय रहे।

सरकारले १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्यायो भने असारमा बङ्गलादेशलाई विद्युत् निर्यात र दैलेखमा प्राकृतिक ग्यासको पुष्टि आर्थिक उपलब्धिका रूपमा देखिए।

भदौको हिंसात्मक आन्दोलनपछि उत्पन्न संवैधानिक संकटलाई सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचनमार्फत समाधानतर्फ डोर्‍यायो। वर्षको अन्त्यतिर जेनजी प्रतिनिधि र सरकारबीच १० बुँदे सम्झौता भयो भने राजनीतिक ध्रुवीकरणबीच नयाँ सरकार गठन भई स्थिरताको आशा जागेको छ।

समग्रमा, वर्ष २०८२ ले पुरानो राजनीतिक अभ्यासको अन्त्य गर्दै युवामुखी, परिणाममुखी र परिवर्तनमुखी राजनीतिक युगको आधार निर्माण गरेर बिदा भएको विश्लेषण गरिएको छ।