पोखरामा पर्यटन दौडले उत्साह थप्यो

काठमाडौं । पोखराको लेकसाइडमा आयोजित फेवा नयाँ वर्ष महोत्सवको अवसरमा पर्यटन दौड सम्पन्न भएको छ। नयाँ वर्ष २०८१ को स्वागतार्थ आयोजित उक्त दौडमा स्थानीय बासिन्दा, पर्यटक र खेलाडीहरू गरी ३५ भन्दा बढी सहभागी भएका थिए।

दौडको मुख्य उद्देश्य पोखराको पर्यटन प्रवर्द्धन र स्वास्थ्य सचेतना फैलाउनु रहेको आयोजकले जनाएको छ। २१औँ फेवा नयाँ वर्ष महोत्सव (स्ट्रिट फेस्टिभल) अन्तर्गत आयोजित यस दौडमा ३ किलोमिटर दूरी तय गरिएको थियो, जुन खहरेबाट अम्बोटसम्म सम्पन्न भएको हो।

संयोजक प्रतिक पहारीका अनुसार यस दौडमा विश्वका २८ देशका पर्यटकहरूको उत्साहजनक सहभागिता रहेको थियो। अस्ट्रेलिया, क्यानडा, युरोप, भारत र चीन लगायत विभिन्न मुलुकका पर्यटकहरूले कार्यक्रममा सहभागिता जनाएका थिए। उनले नयाँ वर्षको अवसरमा विदेशी पाहुनालाई नेपाली संस्कृति र उत्सवसँग नजिक गराउने उद्देश्य सफल भएको बताए।

उनका अनुसार हाल पोखराका होटलहरूमा ९० देखि ९५ प्रतिशतसम्म अकुपेन्सी रहेको छ, जसले व्यवसायीहरूमा उत्साह थपेको छ। विदेशी पर्यटकलाई नेपाली परम्परासँग जोड्ने यस कार्यक्रमलाई महत्वपूर्ण पर्यटन गतिविधिका रूपमा लिइएको छ।

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका संयोजक मोडी लामिछानेका अनुसार केही समयअघिको राजनीतिक अस्थिरता र आन्दोलनका कारण सुस्ताएको पोखराको पर्यटन क्षेत्र पुनः लयमा फर्किँदै गएको छ। उनका अनुसार आन्तरिक तथा बाह्य पर्यटन विस्तारै सुधारोन्मुख अवस्थामा पुगेको छ।

पर्यटन बोर्डले ‘जाउँ है पोखरा’ अभियान तथा ‘पोखरा सुरक्षित छ’ भन्ने सन्देशमार्फत पर्यटन पुनरुत्थानमा सक्रिय भूमिका खेलेको छ। हाल मध्यपूर्वको द्वन्द्वका कारण युरोप र अमेरिकाबाट आउने पर्यटकमा कमी आए पनि भारत र दक्षिण–पूर्वी एसियाबाट आउने पर्यटक १५ देखि २० प्रतिशतले वृद्धि भएको छ।

पर्यटन बोर्डले आगामी दिनमा दक्षिण–पूर्वी एसिया, जापान, कोरिया र अष्ट्रेलियालाई प्रमुख बजारका रूपमा लक्षित गर्दै प्रवर्द्धनात्मक गतिविधि विस्तार गर्ने योजना बनाएको छ। नयाँ वर्षको अवसरमा पोखरामा पर्यटकहरूको चहलपहल अझै बढ्ने अपेक्षा गरिएको छ।