काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९ औँ वार्षिकोत्सवको अवसरमा “डिजिटल मन्थ उत्सव” अभियान सञ्चालन गर्ने भएको छ । “१९ औँ वार्षिकोत्सव क्याम्पेन–२०८३” नारासहित आगामी वैशाख १ गतेदेखि ३१ गतेसम्म यो अभियान सञ्चालन गरिने बैंकले जनाएको छ ।
एक महिनासम्म सञ्चालन हुने यस अभियानअन्तर्गत बैंकले विभिन्न कार्यक्रममार्फत आफ्ना ग्राहकलाई आकर्षक छुट तथा सुविधा प्रदान गर्ने तयारी गरेको छ । डिजिटल कारोबार प्रवर्द्धनलाई केन्द्रमा राखेर ल्याइएको यस योजनामा निष्क्रिय डेबिट कार्डलाई पिओएस वा इ–कमर्स कारोबारमार्फत सक्रिय गराउने ग्राहकलाई कारोबार रकमको १९ प्रतिशत वा अधिकतम १९० रुपैयाँसम्म क्यासब्याक दिइनेछ ।
त्यस्तै, मोबाइल बैंकिङ वा डिजी बैंकमार्फत इ–कम कार्ड अनुरोध गर्दा जारी शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिनेछ । निष्क्रिय व्यवसायिक क्यूआर सक्रिय गर्ने ग्राहकले पनि कारोबार रकमको १९ प्रतिशत वा अधिकतम १९० रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।
बैंकका अनुसार होटल तथा रेष्टुरेन्टमा पिओएस मेसिन जडान गर्दा कारोबार शुल्कमा विशेष छुट दिइनेछ भने मोबाइल बैंकिङमार्फत लकर सुविधा अनुरोध गर्ने ग्राहकलाई वार्षिक शुल्कमा ५० प्रतिशत छुट उपलब्ध गराइनेछ । साथै, परिवारका सदस्यलाई नयाँ खाता खोल्न सिफारिस गर्ने ग्राहकलाई प्रति खाता १०० रुपैयाँ क्यासब्याक र मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स प्राप्त गर्दा २०० रुपैयाँ क्यासब्याक प्रदान गरिनेछ ।
डिजिटल भुक्तानीलाई थप प्रोत्साहन गर्न बैंकले सिटिजन्स फोनपे क्रेडिट कार्डमा पहिलो वर्षको शुल्कमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । यसअघि बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल कार्ड सञ्चालनमा ल्याएको थियो । साथै, नवयुवालाई लक्षित “सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” जस्ता सेवा पनि सञ्चालनमा ल्याइसकेको छ ।
फ्रिलान्सरहरूका लागि विशेष “फ्रिलान्सर सेभिङ्स अकाउन्ट” समेत सुरु गरिएको बैंकले जनाएको छ । मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने तथा क्रस–बैंक टेलर क्यूआर स्क्यानमार्फत अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंकबाट नगद प्राप्त गर्न सक्ने सुविधा समेत उपलब्ध गराइएको छ ।
हाल सिटिजन्स बैंकले देशभर ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले डिजिटल बैंकिङ विस्तारसँगै ग्राहकमैत्री सेवा थप सुदृढ बनाउने लक्ष्य राखेको जनाएको छ ।
