काठमाडौँ । पछिल्लो समय बजारमा केराको मूल्य उल्लेख्य रूपमा बढेको छ। आपूर्ति र आयातमा देखिएको असरका कारण केराको थोक तथा खुद्रा दुवै मूल्यमा वृद्धि भएको व्यवसायीहरूले बताएका छन्।
कुलेश्वरका फलफूल व्यवसायी अमर बानियाँका अनुसार गत वर्ष प्रतिदर्जन औसत १५० रुपैयाँमा पाइने केरा अहिले थोक बजारमै २२५ रुपैयाँ पुगेको छ।
उनका अनुसार थोक मूल्य नै बढेपछि खुद्रा बजारमा पनि प्रतिदर्जन केरा २५० देखि ३०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।
“थोक मूल्यकै यस्तो अवस्था भएपछि खुद्रा मूल्य पनि स्वाभाविक रूपमा बढेको हो,” बानियाँले बताए।
व्यवसायीहरूका अनुसार पछिल्लो समय भारतीय केरामा प्रतिबन्ध जस्ता आयातसम्बन्धी कडाइका कारण आपूर्तिमा दबाब परेको छ। बजारमा वैधानिक रूपमा केरा आपूर्ति कम भए पनि पछिल्ला चार–पाँच महिनादेखि अवैध रूपमा समेत केरा भित्रिने गरेको व्यापारीहरूको भनाइ छ।
आपूर्ति प्रणालीमा आएको असन्तुलन र माग यथावत् रहँदा मूल्य वृद्धि भएको व्यवसायीहरूले बताएका छन्।
