काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभागले बुधबार काठमाडौंका विभिन्न स्थानमा एकैदिन ५६ वटा व्यावसायिक फर्ममा अनुगमन गरेको जनाएको छ ।
खाद्य पदार्थ तथा दैनिक उपभोग्य वस्तु बिक्री–वितरण गर्ने फर्म, पसल तथा अन्य व्यावसायिक प्रतिष्ठानमा स्थलगत अनुगमन गर्दै आवश्यक कारबाहीको दायरामा ल्याइएको विभागले जानकारी दिएको छ ।
विभागद्वारा जारी विज्ञप्तिअनुसार अनुगमनका क्रममा सम्बन्धित फर्महरूलाई सुधारात्मक निर्देशनसमेत दिइएको छ । अनुगमनका क्रममा व्यवसायीहरूले बिल–बीजक उपलब्ध गराए/नगराएको, उपभोक्ताले सहजै देख्ने गरी मूल्यसूची राखिएको/नराखिएको, साथै कानुनअनुसार तिर्नुपर्ने कर तथा अन्य दायित्व पूरा गरिएको/नगरिएको विषयमा सूक्ष्म अध्ययन गरिएको जनाइएको छ ।
उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाहरूको उपस्थितिमा गरिएको उक्त अनुगमनले बजारमा पारदर्शिता र उपभोक्ता अधिकार संरक्षणमा टेवा पुग्ने विश्वास विभागले लिएको छ ।
