काठमाडौँमा अपराध नियन्त्रणमा प्रहरी सक्रिय

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले चैत महिनामा कुल १ हजार १६६ वटा मुद्दा दर्ता गरेको जनाएको छ । तीमध्ये जघन्य अपराधका २१४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४६, आर्थिक अपराधका ५६४ र अन्य अपराधका ३४२ मुद्दा रहेका छन् ।

परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सो अवधिमा सम्पत्ति शुद्धीकरणसम्बन्धी दुई वटा मुद्दामा तीन जनालाई प्रतिवादी बनाई २२ करोड ७५ लाख ९६ हजार ४८८ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ ।

यसैगरी, हुन्डी कारोबार नियन्त्रणमा पनि प्रहरीले सक्रियता देखाएको छ । चैत महिनामा तीन वटा मुद्दामा सात जनालाई प्रतिवादी बनाउँदै १ करोड ५६ लाख रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ ।

नागार्जुन नगरपालिका–८ भीमढुंगाबाट हुन्डी तथा अभौतिक मुद्रा कारोबारमा संलग्न दुई जनालाई १ करोड १६ लाख रुपैयाँ नगदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध अभौतिक मुद्रा र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

त्यस्तै, काठमाडौं महानगरपालिका–२६ ठमेलबाट १७ करोड ७९ लाख ७० हजार ३७१ रुपैयाँ बराबरको अभौतिक मुद्रा कारोबारमा संलग्न एक चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार एक महिनाको अवधिमा हराएका २७३ व्यक्तिमध्ये १५९ जनालाई फेला पारेर परिवारको जिम्मा लगाइएको छ ।

साइबर अपराध तथा ठगीतर्फ चैत महिनामा २६१ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये १०० वटा मुद्दा अनलाइन सपिङको नाममा गरिएको ठगीसँग सम्बन्धित रहेका छन् ।