नबिल बैंकको नयाँ लक्ष्यसहित रूपान्तरण यात्रा

काठमाडौं । नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै आफ्नो चार दशकदेखिको लक्ष्य, उद्देश्य र मूल्यमान्यतालाई पुनःपरिभाषित गरेको छ । बैंकले यस कदममार्फत विश्वास, उत्थानशीलता र भविष्यप्रतिको तयारीमा आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको जनाएको छ ।

बैंकले ‘नेपालको सबैभन्दा विश्वासिलो, भरपर्दो र भविष्यका लागि तयार बैंक बन्ने’ उद्देश्य अघि सारेको छ । साथै, विश्वस्तरीय नेपाली बैंक बन्ने ध्येयसहित सेवाग्राहीकेन्द्रित, विश्वास, अनुशासन र अनुपालनमा आधारित, नवीनताद्वारा सञ्चालित तथा सुशासन, वातावरणीय, सामाजिक र प्रशासनिक दायित्वमा आधारित संरचना विकास गर्ने लक्ष्य लिएको बैंकले जनाएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बैंकिङ प्रणाली तीव्र गतिमा परिवर्तन भइरहेको सन्दर्भमा दीर्घकालीन मार्गचित्र आवश्यक रहेको बताए । उनले ग्राहककेन्द्रित विश्वस्तरको नेपाली बैंक बन्ने उद्देश्यसहित बैंकको उद्देश्य र मूल्य प्रणाली पुनःपरिभाषित गरिएको जानकारी दिए ।

उनका अनुसार बैंकले डिजिटल प्रविधिलाई प्राथमिकता दिँदै मानव स्रोत र नेतृत्व विकासमा निरन्तर लगानी गर्ने तथा जवाफदेहिता र सहकार्यको संस्कृतिलाई मजबुत बनाउने लक्ष्य लिएको छ ।

बैंकले आफ्ना मूल्यमान्यतालाई पाँच ‘टी’— विश्वास, पारदर्शिता, प्रतिभा, प्रविधि र रूपान्तरण—का स्तम्भमार्फत अभिव्यक्त गरेको छ । यी मूल्य पञ्चतत्त्व दर्शनमा आधारित रहेको बैंकले जनाएको छ, जसअनुसार धरतीले विश्वास, पानीले पारदर्शिता, आगोले प्रतिभा, वायुले प्रविधि र आकाशले रूपान्तरणलाई प्रतिनिधित्व गर्छ ।

ग्राहकको बदलिँदो अपेक्षा, डिजिटल प्रविधिको विकास, कृत्रिम बुद्धिमत्ताको बढ्दो प्रभाव तथा दिगोपनाको आवश्यकतालाई ध्यानमा राख्दै बैंकले आफूलाई परिमार्जन गर्दै अघि बढ्ने जनाएको छ ।

गुणस्तरीय बैंकिङ सेवा सबै पुस्तासम्म पुर्‍याउने उद्देश्यसहित बैंकले आफ्नो स्लोगन ‘सँधैं सँगै अघि’ बनाएको छ । बैंकले उत्थानशीलता, प्रशासनिक अनुशासन र न्यायसंगत विकासप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै सेवाग्राही, सरोकारवाला र समुदायप्रति जिम्मेवार रहने जनाएको छ ।

हाल नबिल बैंकले देशभर २६८ शाखा सञ्जाल र ३१८ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै सबै सरोकारवालासँग मिलेर निरन्तर अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।