काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्यभार सम्हालेपछि पहिलो पटक हुन लागेको यो छलफल संघ र प्रदेश सरकारबीचको समन्वयसँग सम्बन्धित विविध महत्वपूर्ण तथा गहन विषयमा केन्द्रित रहनेछ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न २ः०० बजे हुने छलफललाई संघ–प्रदेश समन्वयलाई अझ प्रभावकारी बनाउने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।
सचिवालयका अनुसार छलफलमा विकास–निर्माणका कार्यलाई तीव्रता दिने, स्रोतसाधनको समुचित बाँडफाँट सुनिश्चित गर्ने तथा प्रदेश सरकारले भोगिरहेका प्रशासनिक र आर्थिक समस्याहरूको समाधानका उपायबारे विस्तृत छलफल हुने छ ।
