एपेक्स मनोकामनाको व्यापार निरन्तर वृद्धि

काठमाडौं । भिभो ब्रान्डका स्मार्टफोन र एक्सेसरिजको आधिकारिक वितरक एपेक्स मनोकामना प्रालिले पछिल्ला तीन वर्षमा आफ्नो व्यापारमा निरन्तर वृद्धि हासिल गरेको छ । कम्पनीको व्यापार पछिल्लो एक वर्षमा २२.६ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०२४/२५ मा कम्पनीले २ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ । अघिल्लो आर्थिक वर्ष २०२३/२४ मा यो कारोबार १ अर्ब ६८ करोड ९० लाख रुपैयाँ रहेको थियो । त्यसअघि आर्थिक वर्ष २०२२/२३ मा कम्पनीको कुल आम्दानी १ अर्ब ३३ करोड २० लाख रुपैयाँ थियो ।

चालु आर्थिक वर्ष २०२६ को पहिलो छ महिनामा कम्पनीले १ अर्ब ५२ करोड ७० लाख रुपैयाँ बराबरको भिभो स्मार्टफोन तथा एक्सेसरिज बिक्री गरेको जनाएको छ । मोबाइल ह्यान्डसेट बिक्रीमा १५ प्रतिशत वृद्धि र नयाँ मोडलप्रति बढ्दो ग्राहक आकर्षणले व्यापार बढाउन मुख्य भूमिका खेलेको कम्पनीले जनाएको छ ।

तर व्यापार वृद्धि भए पनि सञ्चालन नाफा मार्जिनमा भने दबाब देखिएको छ । कम्पनीको सञ्चालन नाफा मार्जिन आर्थिक वर्ष २०२३ मा ६.६५ प्रतिशत रहेकोमा २०२४ मा ४.९८ प्रतिशत र २०२५ मा घटेर ४.५८ प्रतिशतमा पुगेको छ ।

त्यस्तै, कम्पनीको समग्र ऋण अवस्था पनि बढेको देखिएको छ । ओभरअल गेयरिङ अनुपात २०२३ मा ४.५७ गुणा, २०२४ मा ४.२७ गुणा रहेकोमा २०२५ मा बढेर ४.७६ गुणा पुगेको छ, जसले ऋण भार केही बढेको संकेत गर्दछ ।

चालु अनुपात भने सुधार भएको छ । अघिल्ला दुई वर्ष १.१९ गुणामा स्थिर रहेको यो अनुपात २०२५ मा बढेर १.४८ गुणा पुगेको छ । साथै, कुल ऋण र नगद सञ्चितिको अनुपात पनि क्रमशः सुधार हुँदै २०२३ मा ४७.०१ गुणा, २०२४ मा ३४.११ गुणा र २०२५ मा ३१.३१ गुणामा झरेको छ ।

केयर रेटिङ्स नेपालले कम्पनीको कुल १ अर्ब ८ करोड ५३ लाख रुपैयाँ बराबरको बैंक सुविधाको रेटिङ पुनः पुष्टि गरेको छ । यसअन्तर्गत १५ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि ‘डबल बी’ र ९३ करोड ५३ लाख रुपैयाँ बराबरको अल्पकालीन बैंक सुविधाका लागि ‘ए फोर’ रेटिङ कायम गरिएको छ ।

प्रविधिमा छिटो परिवर्तन, भिभो ब्रान्डमा उच्च निर्भरता र मोबाइल बजारको तीव्र प्रतिस्पर्धा कम्पनीका प्रमुख चुनौतीका रूपमा रहेका छन् । साथै, वैदेशिक मुद्राको उतारचढाव र ब्याजदर जोखिम पनि कायम रहेको छ ।

आगामी दिनमा कम्पनीले कार्यशील पुँजी व्यवस्थापनलाई प्रभावकारी बनाउने र बिक्री वृद्धि गर्न विभिन्न साझेदारीमार्फत किस्ताबन्दी सुविधा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।