काठमाडाैं । कामना सेवा विकास बैंक ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्म उत्साहजनक वित्तीय प्रगति गरेको छ। बैंकको नाफा यस अवधिमा १९.३७ प्रतिशतले वृद्धि भएको छ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार नौ महिनामा ५८ करोड ८६ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले ४९ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी १ रुपैयाँ ३२ पैसा वृद्धि भई २० रुपैयाँ ०५ पैसा पुगेको छ।
यसैगरी, बैंकको खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ। चालु वर्षको नौ महिनामा यस्तो आम्दानी ९.२६ प्रतिशतले बढेर १ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ६६ करोड ४२ लाख रुपैयाँ थियो।
चैत मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ४१ करोड ७६ लाख रुपैयाँ रहेको छ। यस आधारमा बैंकले दोस्रो त्रैमाससम्म १४.१५ प्रतिशत लाभांश दिने क्षमता बनाएको देखिन्छ।
सञ्चालन मुनाफा पनि उल्लेखनीय रूपमा बढेको छ। समीक्षा अवधिसम्म सञ्चालन मुनाफा १८.३४ प्रतिशतले वृद्धि भई ८४ करोड ७४ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष सोही अवधिमा ७१ करोड ६१ लाख रुपैयाँ थियो।
बैंकको इम्पेरमेन्ट चार्ज भने घटेको छ। चैत मसान्तसम्म यस्तो चार्ज २८ करोड ६२ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्ष ३१ करोड ७१ लाख रुपैयाँ थियो।
हाल बैंकको चुक्ता पूँजी ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ रहेको छ भने २ अर्ब ३ करोड ७३ लाख रुपैयाँ सञ्चित रहेको छ। बैंकको खराब कर्जा अनुपात ४.४० प्रतिशत रहेको छ।
निक्षेप तथा कर्जा विस्तारतर्फ पनि बैंक सक्रिय देखिएको छ। तेस्रो त्रैमासको अन्त्यसम्म बैंकले ६४ अर्ब ९५ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५३ अर्ब ५३ करोड ८६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
समग्रमा, नाफा, आम्दानी र सञ्चालन मुनाफामा आएको वृद्धिले बैंकको वित्तीय अवस्था थप सुदृढ बन्दै गएको संकेत गरेको छ।
