बीपी राजमार्ग खुलाउने काम तीव्र, डाइभर्सन बाढीले असर

बनेपा । अविरल वर्षाका कारण बीपी राजमार्ग का विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सनहरू बाढीले बगाएपछि सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार राजमार्गको कटुन्जे–मङ्गलटार सडकखण्डअन्तर्गत घुमाउने लगायतका स्थानमा रहेका डाइभर्सनहरू बाढीले बगाएको हो। सडक अवरुद्ध भएपछि दर्जनौँ सवारी साधन र यात्रुहरू बीच बाटोमै रोकिएका छन्।

प्रहरीले सडक मर्मत तथा पुनः सञ्चालनका लागि काम भइरहेको भए पनि यातायात सुचारु हुन केही समय लाग्ने जनाएको छ। लगातार वर्षाका कारण मर्मत कार्यमा समेत चुनौती देखिएको बताइएको छ।

सडक अवरुद्ध भएपछि यात्रुहरूको सहजताका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेले वैकल्पिक योजना बनाई मात्र यात्रा गर्न तथा सडक अवस्थाबारे पूर्वजानकारी लिएर मात्र यात्रा तय गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

सम्बन्धित निकायले राजमार्ग पुनः सञ्चालनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय कामलाई तीव्रता दिएको जनाएको छ।