कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्। कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रमअन्तर्गत सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले कर्णालीजस्ता विकट क्षेत्रमा इन्धनमा सहुलियत आवश्यक रहेको बताए।
अध्यक्ष घिसिङले कर्णालीको भौगोलिक जटिलताका कारण यातायात र दैनिक जीवनमा खर्च बढ्ने भएकाले डिजेल, पेट्रोल र ग्यासजस्ता इन्धनमा मूल्य वृद्धि गर्नु उचित नहुने धारणा राखे। उनले छिमेकी देश भारतमा समेत इन्धन मूल्य स्थिर रहेको उल्लेख गर्दै नेपाल सरकारले नागरिकमाथि थप आर्थिक भार नपार्नुपर्ने बताए।
उनका अनुसार कर्णालीमा पर्यटन आवागमन सहज बनाउन पनि इन्धन मूल्यमा विशेष सहुलियत दिन आवश्यक छ। साथै, सरकारले मूल्य समायोजनमार्फत नागरिकलाई राहत दिनुपर्नेमा उनले जोड दिए।
घिसिङले दुई तिहाई बहुमतको सरकारलाई काम गर्न सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। उनले आफू नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा रहँदा तथा सरकारमा हुँदा कर्णालीको विद्युतीकरण र ट्रान्समिसन लाइन विस्तारका लागि करिब ३५ अर्ब रुपैयाँको लगानी सुनिश्चित गरिएको दाबी गरे।
उनका अनुसार १३२ केभी प्रसारण लाइन जुम्लासम्म निर्माणाधीन अवस्थामा छ। पार्टी गठनपछि चुनावी तयारीका लागि पर्याप्त समय नपाएको कारण प्रारम्भिक निर्वाचनमा नतिजा कमजोर भए पनि आगामी निर्वाचनमा उनेपा ठूलो शक्तिका रूपमा उदाउने र वडा तहसम्म संगठन विस्तार गर्ने उनले बताए।
