काठमाडौं । पछिल्लो ९ महिनामा नेपालका वाणिज्य बैंकहरूको कर्जा लगानीमा उल्लेखनीय वृद्धि देखिएको छ। असार २०८१ देखि चैत २०८१ सम्म बैंकहरूको कुल कर्जा ५ खर्ब २५ अर्ब ९ करोड ४० लाख रुपैयाँले बढेको छ।
नेपाल राष्ट्र बैंकसम्बन्धी बैंकिङ तथ्याङ्क अनुसार यो अवधिमा बैंकहरूले कुल २ खर्ब ७६ अर्ब ३९ करोड रुपैयाँ बराबरको नयाँ कर्जा प्रवाह गरेका छन्। असार मसान्तमा ४९ खर्ब ७४ अर्ब ५५ करोड रुपैयाँ रहेको कुल कर्जा चैतसम्म आइपुग्दा ५.५६ प्रतिशतले वृद्धि भएको हो।
ब्याजदरमा आएको क्रमिक गिरावट र बैंकिङ प्रणालीमा तरलता उपलब्धताका कारण बैंकहरू कर्जा विस्तारमा आक्रामक बनेका देखिन्छन्। यसले बजारमा माग विस्तार हुँदै गएको र साना, मझौला तथा ठूला परियोजनामा लगानी बढिरहेको संकेत गरेको छ।
कर्जा लगानीमा बैंकहरूको प्रतिस्पर्धा हेर्दा ग्लोबल आइएमई बैंक ४ खर्ब ७६ अर्ब १७ करोड रुपैयाँ कर्जा लगानीसहित पहिलो स्थानमा रहेको छ। नबिल बैंक ४ खर्ब ७२ अर्ब ४० करोड रुपैयाँसहित दोस्रो स्थानमा छ। यी दुई बैंकले मात्रै ठूलो हिस्सा ओगटेका छन्।
यस अवधिमा ग्लोबल आइएमई बैंकले ३५ अर्ब ५४ करोड रुपैयाँ र नबिल बैंकले ३८ अर्ब ७१ करोड रुपैयाँ बराबरको नयाँ कर्जा प्रवाह गरेका छन्।
तर सबै बैंकको अवस्था समान छैन। प्रभु बैंक, एनआईसी एशिया बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको कर्जा लगानी घटेको देखिएको छ। प्रभु बैंकको कर्जा ४ अर्ब २७ करोड रुपैयाँले घटेको छ भने एनआईसी एशिया बैंकको कर्जा १९ अर्ब ३७ करोड रुपैयाँले घटेको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकको कर्जा १० अर्ब ४७ करोड रुपैयाँले घटेर ७७ अर्ब ९९ करोड रुपैयाँमा सीमित भएको छ।
वृद्धिदरका आधारमा एभरेष्ट बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले १७.४८ प्रतिशतको वृद्धि गर्दै २ खर्ब ६२ अर्ब ७५ करोड रुपैयाँ कर्जा पुर्याएको छ। सो बैंकले मात्र ३९ अर्ब ९ करोड रुपैयाँ बराबरको नयाँ कर्जा प्रवाह गरेको छ।
माछापुच्छ्रे बैंकले १२.८२ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ९.७६ प्रतिशतको वृद्धि हासिल गरेका छन्। लक्ष्मी सनराइज र नबिल बैंकले पनि ८ प्रतिशतभन्दा बढी वृद्धि कायम राखेका छन्।
