काठमाडौं । नेपाली बीमा क्षेत्र अहिले ऐतिहासिक संक्रमणसँगै सुदृढीकरणको चरणमा प्रवेश गरेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणले बीमा कम्पनीहरूको वित्तीय आधार थप मजबुत बन्दै गएको देखाएको छ।
‘बीमा ऐन २०७९’ को प्रभावकारी कार्यान्वयन र चुक्ता पूँजी वृद्धि सम्बन्धी कडा नीतिका कारण जीवन, निर्जीवन र लघुबीमा कम्पनीहरूको संरचनामा उल्लेखनीय परिवर्तन आएको हो। यसले बजारलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाएको विश्लेषण गरिएको छ।
प्राधिकरणका अनुसार जीवन बीमातर्फ हाल १४ वटा कम्पनी सक्रिय छन्। यसमध्ये नेपाल लाइफ इन्स्योरेन्स ९ अर्ब २ करोड ८७ लाख ६३ हजार २०९ रुपैयाँ चुक्ता पूँजीसहित अग्रस्थानमा देखिएको छ। हिमालयन लाइफको ८ अर्ब १४ करोड ३२ लाख रुपैयाँ र नेशनल लाइफको ५ अर्ब ६१ करोड १६ लाख ४९ हजार रुपैयाँ पूँजीले पनि बजारमा बलियो उपस्थिति जनाएका छन्।
सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको चुक्ता पूँजी १८ करोड १० लाख २० हजार रुपैयाँ मात्र रहे पनि यसको जगेडा कोष तथा अन्य प्राविधिक पक्षहरू फरक प्रकृतिका छन्। नयाँ जीवन बीमा कम्पनीहरू पनि ५ अर्ब रुपैयाँको न्यूनतम पूँजी सीमालाई पूरा गर्ने क्रममा छन्। सूर्यज्योति लाइफ, सानिमा रिलायन्स लाइफ र प्रभु महालक्ष्मी लाइफ यस दिशामा अग्रसर देखिएका छन्।
निर्जीवन बीमा क्षेत्रमा पनि प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। कुल १४ कम्पनीमध्ये शिखर इन्स्योरेन्स २ अर्ब ९२ करोड ३० लाख ९९ हजार रुपैयाँ पूँजीसहित अगाडि रहेको छ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले पनि उच्च पूँजीका साथ बजारमा प्रभाव कायम राखेका छन्।
विदेशी कम्पनीका शाखाहरूले ‘एसाइन्ड क्यापिटल’ मार्फत आफ्नो उपस्थिति जनाइरहेका छन् भने पछिल्लो समय भएका मर्जरहरूले बजारलाई थप सुदृढ बनाएको संकेत गरेका छन्। आइजीआई प्रुडेन्सियल र युनाइटेड अजोड इन्स्योरेन्सको पूँजी वृद्धि यसैको उदाहरण हो।
पुनर्बीमा क्षेत्रमा सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी (नेपाल रे) को १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार १०० रुपैयाँ र निजी क्षेत्रको हिमालयन री इन्स्योरेन्सको १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ पूँजी रहेको छ। यी दुई कम्पनीको कुल २४ अर्बभन्दा बढी पूँजीले विदेशी मुद्रा बाहिरिन रोक्न महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
बीमा सेवाको पहुँच तल्लो तहसम्म विस्तार गर्ने लक्ष्यसहित स्थापना भएका लघुबीमा कम्पनीहरू पनि सक्रिय बन्दै गएका छन्। हाल सञ्चालनमा रहेका ७ वटा लघुबीमा कम्पनीमध्ये अधिकांशको चुक्ता पूँजी ५२ करोड ५० लाखदेखि ७५ करोड रुपैयाँसम्म रहेको छ। नेपाल माइक्रो इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ उच्च पूँजी भएका कम्पनीका रूपमा देखिएका छन् भने लिबर्टी, स्टार र ट्रस्ट माइक्रो इन्स्योरेन्स समान पूँजीसहित सञ्चालनमा छन्।
यी कम्पनीहरूले भरतपुर, विराटनगर, धनगढी, सुर्खेत र पोखरा जस्ता शहरमा मुख्य कार्यालय स्थापना गरेर सेवा विस्तार थालेका छन्, जसले बीमा क्षेत्रको विकेन्द्रीकरणतर्फको यात्रा सुरु भएको संकेत दिएको छ।
समग्रमा, नीति सुधार, पूँजी वृद्धि र संरचनागत परिवर्तनले नेपाली बीमा बजारलाई थप सबल, प्रतिस्पर्धी र दीर्घकालीन रूपमा दिगो बनाउने आधार तयार भएको देखिन्छ।

