ग्रामीण उद्यमशीलतामा नबिलको तालिम अभियान

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न १६ ग्रामीण स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु गरेको छ।

जुम्लाको सिँजा गाउँपालिकाबाट बुधबारदेखि सुरु भएको यो तालिम चालु आर्थिक वर्षभित्र थप १५ स्थानमा विस्तार गरिने बैंकले जनाएको छ। कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका स्थानीय तहसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिनेछ।

कृषिमा आधारित व्यवसाय गरिरहेका तथा गर्न इच्छुक करिब पाँच सय व्यक्तिलाई लक्षित गरी तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ। तालिममा बचत, बजेट निर्माण, ऋण व्यवस्थापन, बीमा तथा लगानीका विकल्पजस्ता विषयमा प्रयोगात्मक ज्ञान प्रदान गरिनेछ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीका अनुसार तालिमको उद्देश्य वित्तीय साक्षरतामा सशक्तीकरण, बेरोजगारी न्यूनीकरण, नयाँ उद्यममा प्रोत्साहन तथा दिगो आर्थिक विकासमा योगदान पुर्‍याउनु हो।

कार्यक्रमअन्तर्गत सहभागीलाई बाख्रापालन, बंगुरपालन, भैंसीपालन, च्याउ खेती, तरकारी खेतीलगायतका विषयमा प्राविधिक ज्ञानका साथै बजार पहिचान, व्यवसाय विस्तार र वित्तीय व्यवस्थापनसम्बन्धी सीप पनि प्रदान गरिनेछ।

बैंकले दिगो बैंकिङ अवधारणाअनुसार ग्रामीण क्षेत्रमा आत्मनिर्भरता वृद्धि गर्ने लक्ष्यसहित यो कार्यक्रम अघि बढाएको जनाएको छ। वातावरणमैत्री, सामाजिक रूपमा जिम्मेवार तथा दीर्घकालीन आर्थिक लाभ दिने लगानीलाई प्राथमिकतामा राखिएको छ।

नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रममार्फत सामाजिक उद्यमशीलता, रोजगारी सृजना र दिगो विकासमा योगदान पुर्‍याउँदै आएको छ।