काठमाडौं । सीजी फुड्स नेपाल ले वाइवाइ उत्पादनको चार दशक पूरा भएको अवसरमा ‘वाइवाइ क्लासिक’ बजारमा सार्वजनिक गरेको छ। कम्पनीले “उही स्वाद, उही याद” भन्ने नारासहित नयाँ उत्पादन ल्याएको हो।
७५ ग्रामको वाइवाइ क्लासिक प्याकेटको मूल्य ३० रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार मौलिक स्वादलाई जोगाउँदै अझ परिष्कृत रूपमा उत्पादनलाई उपभोक्ता समक्ष प्रस्तुत गरिएको हो। यसमा डिहाइड्रेटेड भेजिटेबल र चिली फ्लेक्स समावेश गरिएकोले स्वाद अझ सन्तुलित र आकर्षक बनाइएको दाबी गरिएको छ।
वाइवाइ नेपाली उपभोक्ताको दैनिक जीवनसँग गहिरो रूपमा जोडिएको ब्रान्ड हो। विद्यालयको टिफिनदेखि रातिको खाजासम्म, होस्टेलदेखि घरको भान्सासम्म यो उत्पादन विभिन्न पुस्तासँग जोडिँदै आएको छ।
सीजी फुड्सका बिजनेस हेड उपेन्द्र प्रधानले वाइवाइ नेपाली घरपरिवारको विशेष हिस्सा रहँदै आएको उल्लेख गर्दै वाइवाइ क्लासिकमार्फत पुराना अनुभव र भावनासँग पुनः जोडिन खोजिएको बताए।
कम्पनीले वाइवाइ क्लासिकले उपभोक्ताका पुराना रमाइला पल र सम्झनालाई पुनः जीवन्त बनाउने विश्वास व्यक्त गरेको छ।
बजार हिस्साको हिसाबले वाइवाइले नेपाली बजारमा ६० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ भने अन्तर्राष्ट्रिय बजारमा करिब ४ प्रतिशत हिस्सा कायम राखेको छ। प्रत्येक वर्ष झण्डै २० प्रतिशतले वृद्धि भइरहेको यसको अन्तर्राष्ट्रिय विस्तारले नेपाली उत्पादन पनि विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता देखाएको कम्पनीको भनाइ छ।
