काठमाडौं । चलचित्र परालको आगो आजदेखि देशभरका हलहरूमा प्रदर्शनमा आएको छ। फ्राइडे रिलिजअन्तर्गत सार्वजनिक भएको यो चलचित्रले दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ।
लक्ष्मण सुनारको निर्देशनमा बनेको यस चलचित्रलाई सुशील पोखरेलले निर्माण गरेका हुन्। चलचित्रको रनटाइम १३५ मिनेट रहेको छ।
चलचित्रमा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपूत, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारीलगायत कलाकारहरूको अभिनय रहेको छ।
कथावस्तु र संवाद सुशील देवकोटाले लेखेका हुन्। निर्माण पक्षका अनुसार चलचित्रले सामाजिक र भावनात्मक पक्षलाई समेट्दै दर्शकलाई नयाँ अनुभव दिने प्रयास गरेको छ।
‘परालको आगो’ प्रदर्शनसँगै हलहरूमा दर्शकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ।
