नेपालको आर्थिक विकासको यात्रामा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अग्रेणी भूमिका निर्वाह गर्दै आएको ऐतिहासिक संस्था नेपाल चेम्बर अफ कमर्सले उद्योग, व्यापार र उद्यमशीलताको प्रवद्र्धनमा निरन्तर योगदान दिँदै आएको छ । यही संस्थामार्फत निजी क्षेत्रको आवाजलाई सरकारसँग समन्वय गर्दै आर्थिक उन्नतिको मार्गप्रशस्त गरिएको छ । यसै योगदानको निरन्तरतास्वरूप हस्तकला क्षेत्रले पनि राष्ट्रिय समृद्धिमा आफ्नो विशिष्ट स्थान बनाउँदै आएको छ ।
हस्तकला केवल एक उद्योग मात्र होइन, यो नेपालको सांस्कृतिक पहिचान, मौलिकता र परम्पराको जीवित स्वरूप हो । नेपाली हस्तकलाले देशको कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्दै निर्यात व्यापारमा महŒवपूर्ण योगदान पुर्याएको छ । स्वदेशी सिप, श्रम र कच्चा पदार्थमा आधारित यो क्षेत्रले आत्मनिर्भर अर्थतन्त्रको बलियो आधार बन्न सक्ने अपार सम्भावना बोकेको छ । ठुलो संख्यामा रोजगारी सिर्जना गर्न सक्ने क्षमताका बाबजुद पनि नीतिगत अस्थिरता, व्यावसायिक वातावरणको अभाव र संरचनात्मक कमजोरीका कारण अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन ।
पुख्र्यौली सिप र परम्परागत ज्ञानमा आधारित हस्तकला व्यवसाय आज चुनौतीपूर्ण मोडमा उभिएको छ । ‘नाम, दाम र भविष्य छैन’ भन्ने धारणा व्यापक बन्दै जाँदा युवा पुस्ता यस क्षेत्रबाट टाढिँदै गएको छ । फलस्वरूप, पुस्तान्तरणको संकट गहिरिँदै गएको छ । कतिपय हस्तकलाका विधाहरू लोप भइसकेका छन् भने कतिपय लोपोन्मुख अवस्थामा छन् । पुरानो पुस्तापछि यी अमूल्य सम्पदाहरू हराउने हुन् कि भन्ने चिन्ता बढ्दो छ ।
नेपालका अधिकांश उद्योग आयातित कच्चा पदार्थमा निर्भर रहँदा हस्तकला भने विशुद्ध रूपमा स्वदेशी स्रोत, सिप र श्रममा आधारित क्षेत्र हो । यो नै सबैभन्दा ठुलो शक्ति हो । तर, यही शक्तिलाई अवसरमा रूपान्तरण गर्न नसक्नु हाम्रो कमजोरी बनेको छ । आधुनिक प्रविधिको अभाव, बजार व्यवस्थापनमा कमजोरी र नीतिगत जटिलताले हस्तकला क्षेत्रको विकासलाई अवरुद्ध गरिरहेको छ ।
आजको डिजिटल र एआई युगमा हस्तकलाको पुस्तान्तरणलाई सहज बनाउन आधुनिक प्रविधिको समावेश अनिवार्य भइसकेको छ । नयाँ पुस्तालाई आकर्षित गर्न प्रविधिमैत्री उत्पादन, डिजाइन र बजार प्रवद्र्धन आवश्यक छ । साथै, अन्तर्राष्ट्रिय बजार विस्तारका लागि लक्षित देशहरूमा एकदेशीय मेला आयोजना गर्ने, हस्तकला ग्राम स्थापना गर्ने, सार्क हस्तकला विकास केन्द्र सञ्चालन गर्नेजस्ता पहलहरू अपरिहार्य छन् । निर्यात प्रक्रियामा पारदर्शिता ल्याउन बीजक मूल्यांकन अनिवार्य गर्नु पनि उत्तिकै आवश्यक छ । सरकार र निजी क्षेत्रबिच सहकार्यको सन्तुलित मोडेल ‘फिफ्टी–फिफ्टी’मार्फत मात्र यी लक्ष्यहरू हासिल गर्न सकिन्छ ।
खुला सिमाना र कमजोर नियमनका कारण नेपाली हस्तकला वस्तुहरू चोरबाटो हुँदै बाहिरी बजारमा पुग्ने र त्यहाँ प्रविधिमार्फत थप आकर्षक बनाई पुन: निर्यात गरिने प्रवृत्ति पनि चुनौतीका रूपमा देखा परेको छ । यद्यपि, मौलिकता र गुणस्तरका कारण नेपाली हस्तकलाको पहिचान अझै बलियो छ । यसलाई जोगाउन र थप सुदृढ बनाउन मूल्य निर्धारण, डिजाइन र ब्रान्डिङमा विशेष ध्यान दिन आवश्यक छ ।
हाल हस्तकला उद्योगले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १० देखि १५ लाख मानिसलाई रोजगारी प्रदान गर्दै आएको छ । विशेषत: महिला, जनजाति, आदिवासी तथा सीमान्तकृत समुदायको आर्थिक सशक्तीकरणमा यस क्षेत्रको भूमिका अत्यन्त महŒवपूर्ण छ । वार्षिक रूपमा करिब २७ अर्ब रुपैयाँबराबरको हस्तकला वस्तु निर्यात हुनु यसको आर्थिक योगदानको स्पष्ट संकेत हो । ३६ विधाअन्तर्गत ८२ प्रकारका हस्तकला वस्तुहरू सूचीकृत हुनु यस क्षेत्रको विविधता र समृद्धिको प्रमाण हो ।
देशभरिका सातै प्रदेश, ७७ जिल्ला र ७५३ पालिकामा सिपमूलक तालिम, उद्यमशीलता विकास र कलाकारहरूको परिचालनमार्फत हस्तकला प्रवद्र्धन गर्न सकिन्छ । केही प्रयासहरू भइरहे पनि प्रभावकारी नीतिको अभावले ती प्रयासहरू अपेक्षित रूपमा सफल हुन सकेका छैनन् । तसर्थ, हस्तकला क्षेत्रका लागि स्पष्ट, दीर्घकालीन र कार्यान्वयनयोग्य नीति आवश्यक छ ।
वर्तमान सरकारले ल्याएको सयबुँदे कार्यसूचीमा निजी क्षेत्रलाई प्राथमिकता दिइनु सकारात्मक संकेत हो । कर प्रणालीको एकद्वार व्यवस्था, स्टार्टअप प्रवद्र्धन, सहुलियत ऋण, पुनरकर्जा कोषको निरन्तरता, महिला तथा युवालाई लक्षित उद्यमशीलता कार्यक्रमले हस्तकला क्षेत्रलाई नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ । तर, यी योजनाको प्रभावकारिता कार्यान्वयनमै निर्भर रहनेछ ।
हस्तकला क्षेत्र पर्यटन प्रवद्र्धन, वैदेशिक रोजगारी न्यूनीकरण र स्वदेशमै रोजगारी सिर्जना गर्ने महŒवपूर्ण माध्यम बन्न सक्छ । साथै, अन्तर्राष्ट्रिय स्तरमा आर्थिक तथा कूटनीतिक सम्बन्ध विस्तार गर्ने सशक्त साधनका रूपमा पनि यसको भूमिका उल्लेखनीय छ ।
कम पुँजी, साधारण उपकरण र स्थानीय स्रोतको प्रयोगबाट सञ्चालन गर्न सकिने हस्तकला व्यवसाय तुलनात्मक रूपमा लाभदायक क्षेत्र हो । कृषिपछिको सबैभन्दा ठुलो सम्भावना बोकेको उद्योगका रूपमा यसलाई विकास गर्न सकिन्छ । तर, कच्चा पदार्थको प्रयोगमा नीतिगत अवरोधले यसको विस्तारमा बाधा पुर्याएको छ । देशभित्र उपलब्ध कच्चा पदार्थ प्रयोग गर्न नपाइने र बाहिरबाट आयात गर्दा झन्झट तथा करको बोझ बढ्ने अवस्था सुधार गर्न जरुरी छ ।
नेपालको हिमाली भेगमा उत्पादन हुने ऊन प्रयोग गर्न वातावरण नबनाई नेदरल्यान्डबाट ऊन आयात गर्नुपर्ने अवस्था विडम्बनापूर्ण छ । यसले स्वदेशी स्रोतको उपेक्षा भएको देखाउँछ । सरकारले आफ्नो नीतिलाई व्यवहारमा लागू गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सकेमा ‘मेड इन नेपाल’ अभियान सफल हुनेमा कुनै शंका रहने छैन ।
इतिहासले देखाउँछ नेपालको निर्यात व्यापारको सुरुवात नै हस्तकलाबाट भएको थियो । तर, आजसम्म पनि यसको प्रभावकारी ब्रान्डिङ र प्याकेजिङ हुन नसक्नु दु:खद पक्ष हो । हस्तकलालाई केवल निर्यात वस्तु मात्र नभई सांस्कृतिक धरोहरका रूपमा स्थापित गर्न छुट्टै नीति निर्माण अपरिहार्य छ ।
हस्तकला व्यवसायीहरूमा सिपको कमी छैन, तर व्यवस्थापन, बजार विस्तार र स्रोत परिचालनको ज्ञानको अभाव देखिन्छ । ठुला औद्योगिक घरानासरह प्रतिस्पर्धा गर्न नसक्नु यसको अर्को चुनौती हो । त्यसैले हस्तकला क्षेत्रलाई अन्य ठुला उद्योगसँग एउटै मापदण्डमा राखेर नीति बनाउनु न्यायोचित हुँदैन ।
निजी क्षेत्रका सबै संघ–संस्था एकजुट भई हस्तकला प्रवद्र्धनमा लाग्नुपर्ने आवश्यकता स्पष्ट देखिन्छ । हस्तकला महासंघले पनि सहकार्यको माध्यमबाट सरकारलाई निरन्तर सचेत गराउँदै आएको छ । अबको सरकार आफ्नो योजनालाई व्यवहारमा रूपान्तरण गर्न सफल भए हस्तकला मात्र होइन, समग्र उद्योग–व्यवसाय र अर्थतन्त्रले नयाँ गति लिने निश्चित छ ।
रवीन्द्र शाक्य, अध्यक्ष, नेपाल हस्तकला महासंघ