काठमाडौं । समाज कल्याण परिषद् ले आफ्नो मातहतमा रहेका संरचनाहरू प्रयोग गर्दै लामो समयदेखि भाडा नतिर्ने व्यक्ति तथा संस्थाहरूमाथि कडा कदम चाल्ने संकेत दिएको छ। परिषद्ले सार्वजनिक सूचना जारी गर्दै बक्यौता रकम बुझाउन अन्तिमपटक थप सात दिनको समय दिएको जनाएको छ।
परिषद्अन्तर्गत भृकुटीमण्डप क्षेत्रमा रहेका पक्की स्टल, भवन तथा अन्य संरचनाहरू भाडामा लिएर सञ्चालन गरिरहेका विभिन्न संस्था तथा व्यक्तिहरूले पटक-पटक ताकेता गर्दा पनि बक्यौता नतिरेपछि परिषद् कडा रूपमा प्रस्तुत भएको हो। यसअघि पनि परिषद्ले सूचना जारी गरी ताकेता गरेको भए पनि अटेर भएपछि पुन: अन्तिम चेतावनी जारी गरिएको हो।
सार्वजनिक सूचनाअनुसार उपभोक्ता मञ्च नेपाल, नेपाल पत्रकार महासंघ, रिपोर्टर्स क्लब नेपाल, नेपाल फोटो पत्रकार महासंघ लगायत विभिन्न संस्था तथा व्यक्तिहरूको लाखौँदेखि करोडौँ रुपैयाँसम्म बक्यौता रहेको उल्लेख गरिएको छ। परिषद्ले कतिपयले आंशिक रकम बुझाए पनि धेरैले अझै सम्पूर्ण बक्यौता नतिरेको जनाएको छ।
परिषद्ले स्पष्ट सन्देश दिएको छ-अब पनि तोकिएको थप अवधिभित्र बक्यौता रकम नबुझाए प्रचलित कानुनअनुसार असुलउपर तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ। राज्यको सम्पत्ति प्रयोग गरेर दायित्वबाट पन्छिन खोज्ने प्रवृत्तिले संस्थागत अनुशासन र सार्वजनिक उत्तरदायित्वमाथि प्रश्न उठाएको भन्दै परिषद्ले यसलाई गम्भीर रूपमा लिएको जनाएको छ।
सार्वजनिक सम्पत्तिको उपयोग गर्ने तर दायित्व पूरा नगर्ने प्रवृत्तिले राज्य संयन्त्र कमजोर बनाउने भन्दै परिषद्को यो कदमलाई सार्वजनिक जवाफदेहिताको परीक्षणका रूपमा हेरिएको छ। अब सबैको नजर तोकिएका संस्था र व्यक्तिहरूले यो अन्तिम चेतावनीलाई कसरी लिन्छन् भन्नेमा केन्द्रित भएको छ।