प्रभु बैंकमा कमिसन आम्दानीको बलियो उछाल

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म प्रभु बैंक लिमिटेडले मिश्रित वित्तीय प्रदर्शन सार्वजनिक गरेको छ। बैंकले आम्दानीका स्रोतहरू विविधीकरण गर्दै केही क्षेत्रमा उल्लेखनीय सुधार हासिल गरेको देखिएको छ।

समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिसन आम्दानी ६२ दशमलव ३१ प्रतिशतले बढेर १ अर्ब ६७ करोड ४ लाख ६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी १ अर्ब २ करोड ९१ लाख ६९ हजार रुपैयाँ मात्र थियो।

यद्यपि, खुद ब्याज आम्दानी १ दशमलव ४० प्रतिशतले घटेर ७ अर्ब १८ करोड १९ लाख ४२ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यो आम्दानी ७ अर्ब २८ करोड ४६ लाख ७७ हजार रुपैयाँ रहेको थियो।

आम्दानीमा केही सुधार देखिए पनि सञ्चालन नाफा र खुद नाफामा गिरावट आएको छ। बैंकको सञ्चालन मुनाफा ३४ दशमलव ११ प्रतिशतले घटेर २ अर्ब २६ करोड ४३ लाख १७ हजार रुपैयाँमा झरेको छ। त्यस्तै, खुद नाफा ५४ दशमलव ६३ प्रतिशतले घटेर ८५ करोड १५ लाख २३ हजार रुपैयाँ कायम भएको छ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपातमा भने सुधार देखिएको छ। खराब कर्जा २ दशमलव १६ प्रतिशतबाट घटेर १ दशमलव ७१ प्रतिशतमा झरेको छ।

इम्पेयरमेन्ट चार्ज पनि ४२ दशमलव ८२ प्रतिशतले घटेर २ अर्ब ७७ करोड ३४ लाख ४९ हजार रुपैयाँमा सीमित भएको छ, जुन गत वर्ष ४ अर्ब ८५ करोड ३२ लाख रुपैयाँ रहेको थियो।

नाफामा आएको गिरावटसँगै प्रतिशेयर आम्दानी (ईपीएस) पनि ५४ दशमलव ६५ प्रतिशतले घटेर ४ रुपैयाँ ८२ पैसा कायम भएको छ। प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ २६ पैसा र मूल्य आम्दानी अनुपात ४३ दशमलव ३४ गुणा रहेको छ।

हाल २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १५ अर्ब १७ करोड ८९ लाख ५६ हजार रुपैयाँ सञ्चित छ।

कारोबार विस्तारतर्फ बैंकले चैत मसान्तसम्म ३ खर्ब ३५ अर्ब १३ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन गर्दै २ खर्ब २१ अर्ब ८७ लाख ८३ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ।